Aamsanchar

काेसी प्रदेशमा दुई दिनमा ४४ वटा आगलागीका घटना, फागुनयता मात्रै १६८ भन्दा बढी घर जले

Author Image
सोमवार, चैत ५, २०८०

विराटनगर – कोशी प्रदेशमा फागुन यता भएको आगलागीको घटना अचाक्ली बढेको छ । आगलागीका कारण सयौँ मानिस घरबार विहीन बनेका छन् भने करोडौँको क्षति भएको छ । तर, सङ्घ र प्रदेश सरकारले आगलागी पीडितहरूको लागि राहत तथा उद्धारको काममा ढिलासुस्ती गरिरहेका छन् । स्थानीय सरकारसँग सीमित स्रोत साधन छ ।
कोशी प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार शनिबार र आइतबार गरी दुई दिनमा मात्रै ४४ वटा आगलागीका घटना भएका छन् । त्यसमध्ये भोजपुरको हतुवागढीमा भएको आगलागीमा ३ जना बालबालिकाको ज्यान गएको छ । फागुन यताको तथ्याङ्क हेर्दा आगलागीमा परी ५ जनाले ज्यान गुमाएका छन् भने १६ जना घाइते भएका छन् ।
शनिबार मात्रै सोलुखुम्बुमा ११ वटा, तेह्रथुममा ५, ओखलढुङ्गामा १, पाँचथरमा ३, इलाममा ३, खोटाङमा २, भोजपुरमा ३, उदयपुरमा ३, मोरङमा ३ वटा आगलागीका घटना भएका छन् । आइतबार पनि सङ्खुवासभामा २, खोटाङमा ३, ओखलढुङ्गामा १, सुनसरीमा ३, तेह्रथुममा ३, मोरङमा १, उदयपुरमा २, धनकुटामा २ र सोलुखुम्बुमा १ वटा आगलागीका घटना भएका छन् । उक्त आगलागीबाट कति क्षति भयो भन्ने विवरण भने अझै आइसकेको छैन । प्रहरीले आइतबार बेलुका ५ बजेसम्ममा भएको आगलागीका घटनाको विवरण उपलब्ध गराए अनुसार फागुन यता आगलागीका घटना २६६ वटा पुगेको छ । जसमा परी १६० वटा घर जलेको छ र १५ करोडभन्दा बढीको क्षति भएको छ । उद्योग, परालका कुन्यूदेखि फाट्टफुट्ट क्षतिको विवरण भने अझै आइनसकेको तथ्याङ्कमा देखिन्छ ।
शनिबार भोजपुरको टक्सारमा भएको आगलागीमा ७ वटा घर जलेका थिए । यस्तै मोरङको रंगेलीस्थित एक सन्थाल बस्तीमा भएको आगलागीमा २१ घर जलेको थियो । यस्तै आइतबार तेह्रथुमको फेदापमा भएको आगलागीबाट १९ घर जलेका छन् । शनिबार साँझसम्मको विवरण अनुसार फागुनयता इलाममा इलाममा १०, उदयपुरमा १२, ओखलढुङ्गामा ११, खोटाङमा १५, झापामा २६, ताप्लेजुङमा ११, तेह्रथुममा २६ वटा, धनकुटामा १९ वटा आगलागीको घटना भएको छ । यस्तै पाँचथरमा ११ वटा, भोजपुरमा ११ वटा, मोरङमा ४८ वटा, सङ्खुवासभामा ६ वटा, सुनसरीमा ३० वटा र सोलुखुम्बुमा १५ वटा आगलागीका घटना भएका छन् । आगलागीबाट भोजपुरमा ३, झापा र पाँचथरमा १–१ जनाको मृत्यु भएको छ । घाइतेको सङ्ख्या १६ पुगेको छ ।

सोही तथ्याङ्क अनुसार आगलागीबाट इलामा ६, उदयपुरमा ११, ओखलढुङ्गामा ३, खोटाङमा १२, झापामा ८, ताप्लेजुङमा ९, तेह्रथुममा १६, धनकुटामा १५ जनाको घर जलेको छ । यस्तै पाँचथरमा ८, भोजपुरमा १४, मोरङमा ४०, सङ्खुवासभामा ३, सुनसरीमा १४ र सोलुखुम्बुमा १ वटा घर जलेको प्रहरीले जनाएको छ ।
आगलागीबाट भएको प्रारम्भिक क्षतिको विवरण अनुसार सबैभन्दा बढी मोरङमा ३ करोड ७२ लाख बराबरको क्षति भएको छ । यस्तै इलाममा १ करोड २२ लाख, झापामा १ करोड ८६ लाख, ताप्लेजुङमा १ करोड ४ लाख, तेह्रथुममा २ करोड, धनकुटामा १ करोड, सुनसरीमा ६२ लाख बराबरको क्षति भएको छ ।

प्रिमनसुनको समय सुरु हुनै लाग्दा आगलागीका घटना र क्षतिको ग्राफ बढ्दै गएको प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी)चन्द्र कुबेर खापुङले बताए । ‘आगलागीको घटना बढ्दै जाँदा चिन्ता थपिएको छ । उद्धार र आगलागी नियन्त्रणमा प्रहरी परिचालित भएको छ । तर, आगलागीका घटना रोकिएको छैन,’ उनले भने, ‘आगलागीका घटना नियन्त्रणका लागि साधन स्रोतको कमी, भौगोलिक विकटताले पनि समस्या पारिरहेको छ ।’

हिउँदयाम सकिएर प्रिमनसुन सुरु हुन लाग्दा पनि वर्षा नहुनु, गर्मी बढ्नु र हावा चल्दा आगलागी बढिरहेको उनले बताए । यो मौसम हावाहुरी, आगलागी, डढेलो, चट्याङ र असिनापानीले सताउने समय हो ।

सरकारले पनि पछिल्ला दुई दिनको अन्तरालमा डढेलो र आगलागीले ठुलै जनधनको क्षतिसमेत पुर्‍याइरहेकोप्रति चिन्ता व्यक्त गर्दै सचेतता अपनाउन आव्हान गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डढेलो धेरैजसो मानवीय कारणले फैलिने गरेको बताएको छ । मानवीय लापरबाहीका कारण नेपालमा ६४ प्रतिशतभन्दा बढी डढेलोका घटना हुने गरेको प्राधिकरणले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले यसपटकको हिउँदमा सरदरभन्दा कम पानी परेकाले सुक्खा भएको र सुक्खामा डढेलोको जोखिम ज्यादा हुने खतरा रहेको जनाएको छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर