Aamsanchar

पछिल्लो २४ घण्टामा आगलागीका ५५ घटना

Author Image
मङ्गलवार, चैत ६, २०८०

काठमाडौँ। फागुनदेखि सुरु भएको डढेलो र आगलागीका घटना चैत लागेपछि एक्कासि बढेको छ । घटना देशव्यापी रूपमा नै विस्तार भएको हो ।

पछिल्लो २४ घण्टामा मात्र आगलागीका ५५ घटना भए । आगलागीमा परेर तीन जनाको ज्यान गएको र तीन जना घाइते भएका छन् । घटनामा चार करोड ८५ लाख रुपियाँ बराबरको आर्थिक क्षति भएको छ । हिउँद लागेसँगै आगलागी र डढेलासम्बन्धी विपत्तका घटना बढ्ने भए पनि आवश्यक सावधानी अपनाउन नसक्दा बर्सेनि यसबाट हुने आर्थिक क्षतिको दर बढिरहेको छ ।

विगत १२ वर्षको तथ्याङ्कलाई हेर्ने हो भने आगलागीकै कारणले ठुलो सङ्ख्यामा मानवीय र आर्थिक क्षति बेहोरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कमा यो समयमा २५ हजार २४० वटा आगलागी र डढेलोमा परेर एक हजार एक सयभन्दा बढीको अकालमै ज्यान गएको छ ।

मानवीय क्षति मात्रै नभएर औसतमा एक वर्षमा दुई अर्ब रुपियाँभन्दा बढीको आर्थिक क्षति आगलागीका कारण हुने गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले एक दशकको अवधिमा आगलागीबाट २६ अर्ब ७१ करोड ९५ लाख ६३ हजार ८३४ रुपियाँ बराबरको आर्थिक क्षति भएको जानकारी दिनुभयो । केन्द्रको तथ्याङ्क अनुसार २०६८ सालदेखि २०८० चैत ४ गतेसम्मको अवधिमा तीन हजार ३२६ जना घाइते भएका छन् । एक दशकमा ३३ हजार १७५ परिवार आगलागीबाट प्रत्यक्ष प्रभावित बनेका छन् ।

फागुनयता जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरले १४ वटा जङ्गलमा आगो निभाएको जनाएको छ । उक्त कार्यालयका सूचना अधिकारी गोर्खबहादुर दर्लामी मगरले ग्यास चुहिएर, विद्युत् ‘सर्ट’ भएर उपत्यकामा आगलागीका घटना हुने गरेको बताउनुभयो । तर फागुन महिनामा भने खुला ठाउँमै आगो धेरै लागेको उहाँले जानकारी दिनुभयो । आगलागीबाट जोगिन घरधनीले नियमित रूपमा विद्युतीय वायरिङ मर्मतसम्भार गर्नुपर्ने सुझाव दिनुभयो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० वसुन्धरा खड्काले विगत ४४ घण्टामा काभ्रेपलाञ्चोक जिल्लामा मात्रै आगलागीका १९ घटना भएकाले सजग रहन अनुरोध गर्नुभएको छ ।

त्यसका लागि ११६ जना प्रहरी परिचालन गर्नुपरेको र १२ लाखभन्दा धेरैको आर्थिक क्षति भएको जानकारी दिनुभयो । आगलागीको जोखिम सबैभन्दा बढी हिउँद महिनामै हुने गरेकाले त्यसमा ध्यान पु¥याउन आवश्यक देखिएको बताउनुभयो ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागले यो वर्ष वनको डढेलो जोखिम उच्च हुने अनुमानका साथ रोकथामका लागि पनि तयारी रहनुपर्ने जनाएको छ । यो वर्ष हिउँदमा कम वर्षा भएका कारण वनका पातपतिङ्गर सुक्ने र आगलागीको जोखिम उच्च हुने भएकाले ध्यान पु¥याउन अनुरोध गरेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा दस दिनदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । लाङटाङ पदयात्रा मार्गको बम्बु क्षेत्रको जङ्गलमा आगलागी भएको हो । नेपाली सेनाले आगो निभाउने प्रयास गरिरहेको छ । जटिल भूबनोटका कारण आगो नियन्त्रणमा आउन सकेको छैन । यो समाचार गोरखापत्र अनलाइनबाट साभार गरिएको हो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर