Aamsanchar

अब कनकाई नगरका घर, ठेगाना सजिलै पत्ता लाग्ने, आजबाट ‘कताहो’ सुरु

Author Image
आइतवार, चैत ११, २०८०

झापा । पछिल्लो एक दशक देखि नेपालमा बढ्दो जनघनत्व, जेलिदै गएको सडक सञ्जाल, बाक्लिदै गएको घरहरूका कारण एक व्यक्तिले अर्को व्यक्तिको घर ठेगाना पत्ता लगाउन हम्मे पर्न थालेको अवस्था छ । त्यस्तै बस्ती, टोल द्रुत गतिमा विस्तार हुँदै गएको झापाको कनकाई नगरपालिकामा पनि  सो अवस्था रहेको छ । कनकाई नगरपालिकामा हालको अवस्थामै अन्य स्थानबाट आउने व्यक्तिहरूका लागि आफन्तको घर पत्ता लगाउन कठिनाइ भोग्नु पर्ने अवस्था रहेको र नागरिकहरूलाई घर ठेगाना सहज रुपमा पत्ता लगाउन सहजताको लागि कनकाई नगरपालिकाले डिजिटल प्रणाली एप अन्तरगत ‘कताहो’ नामक एप प्रयोग शुभारम्भ गरेको छ ।

आज एक कार्यक्रमका बिच  डिजिटल प्रणालीको बारेमा वडा गत जनप्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधिहरूलाई जानकारी गराएर वडा नं. ७ बाट ‘कताहो’ प्रणाली शुभारम्भ गरिएको हो ।
कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, ७ नम्बर वडाका वडाध्यक्ष भिष्मभूषण सिटौलाले डिजिटल प्लेट दुर्गापुर सामुदायिक भवनमा टाँस गरेर डिजिटल प्रणालीको सुरुवात गरेका थिए ।

‘कताहो‘ प्रणाली मिनेटभरमै आफ्नो घरको ठेगाना प्लेट तयार गर्न सकिने ग्रिडमा आधारित अत्याधुनिक सफ्टवेयर तथा मोबाइल एप्लिकेसन हो । नेपाली शब्द मार्फत सजिलै सम्झन र बोलेर शेयर गर्न सकिने र नेपालभरको जुनसुकै स्थानबाट डिजिटल ठेगाना तयार गर्न सकिने नवीनतम प्रविधि रहेको एप निर्माता कम्पनीका प्राविधिक रामप्रसाद रिमालले बताए । रिमालको भनाई अनुसार यो प्रणाली सुरुवात गर्ने स्थानीय तह कनकाई नगरपालिका देशमै पहिलो नगरपालिका हो ।

‘कताहो’ प्रयोग गर्दा मोबाइल मार्फत आम सर्वसाधारणले ५ मिनेटमै डिजिटल ठेगाना प्लेट गर्न सक्ने, आल्मुनियममा कुँदिएको क्यूआर कोड सहितको आकर्षक प्लेट अर्डर गर्न सकिने, बोलेर स्थान शेयर गर्न सकिने, ठेगाना प्लेटमा रहेको क्यूआर कोड मार्फत घण्टी बजाउन सकिने, आपतकालीन अवस्थामा तुरुन्त सहयोग पाउन सकिने, मोबाइल एप्लिकेसनमा प्रयोग हुने जुनसुकै नक्सामा पनि चल्ने, घरको साथसाथै नेपालभर जुनसुकै स्थानको डिजिटल ठेगाना तयार गर्न सकिने, ठेगाना, बाटोको नाम जस्ता काममा खर्चहुने नेपाल सरकारको ठूलो धनराशी बचत हुने प्राविधिक रिजालको दावी छ ।
त्यसैगरी अन्य सुविधा हरूमा  सरकारी तथा सबै प्रकारका केवाइसी फर्ममा ठेगाना कोड उल्लेख गर्न सकिने, सार्वजनिक सम्पत्ति, सम्पदा जस्ता संरक्षण क्षेत्रहरू छुट्याइ अभिलेख गर्न सकिने, सजिलो तथा छिटो छरितो रुपमा पालिका, वडा तथा टोल विकास संस्थाहरूले आफ्ना क्षेत्रभित्र घर तथा संरचनाहरूको नामांकन गर्न सकिने प्राविधिक रिजालले आमसंचारलाई बताए ।

कनकाई नगरपालिकाले ‘कताहो’ प्रणाली सुरु गर्नको लागि वडा नम्बर ७ मा १४ दिन अघि बाट डिजिटल घरधुरी संख्या अद्यावधिक गर्न सुरु गरेको थियो । कनकाई नगरले हालसम्म १ हजार १९४ घरको नम्बर तयार पारिसकेको छ ।  कनकाई नगरपालिकाले नगरलाई डिजिटल प्रविधि मैत्री नगर बनाउने अभियान अन्तरगत कार्यपालिका कार्यलयलाई डिजिटल मैत्री बनाई सकेको छ, अब कनकाईका हरेक घरलाई डिजिटल प्रणालीमा जोडने अभियान सुरु भएको नगर प्रमुख पोखरेलले बताए । ‘कताहो’ प्रणाली शुभारम्भ कार्यक्रममा नगर प्रमुख पोखरेलले भने  ‘१२ वर्ष अघि फ्रान्स भ्रमणमा गएको वेला गाडीमा चढेपछि आफू पुग्ने घर सम्म पुग्न डिजिटल प्रणालीले बाटो देखाएको थियो, त्यो वेला यो प्रविधि देख्दा म अचम्म परेको थिए । आज त्यही प्रविधि, प्रणाली आफ्नै नगरमा सुरु गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ ।’

घर घरमा डिजिटल नम्बर प्लेट टाँस गर्न एउटा प्लेस वापत ६ सय रुपैयाँ खर्च आएको छ । तर नगरपालिकाले नागरिकलाई साझेदारी बनाई, प्रविधि प्रयोगको महत्व र आवश्यकता सँगै अपनत्व बोध गराउन १ सय रुपैयाँ मात्र लिने अरु खर्च नगरपालिकाले व्यहोर्ने वडाध्यक्ष सिटौलाले बताए ।
‘कताहो’ एप निःशुल्क डाउनलोड गर्न सकिने ‘कताहो’ एप कम्पनीले जनाएको छ ।  

नगर प्रमुख पोखरेलको अध्यक्षतामा आयोजित  कार्यक्रमको सञ्चालन नगरपालिकाका आईटी प्रमुख खगेन्द्र मिश्रले गरेका थिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर