Aamsanchar

छिम्केश्वरी मन्दिर धार्मिक पर्यटकीयस्थलका रूपमा विकास हुँदै

Author Image
मङ्गलवार, चैत १३, २०८०

तनहुँ – समुद्र सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित तनहुँको छिम्केश्वरी मन्दिर क्रमशः धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको छ।

आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा रहेको प्रसिद्ध धार्मिकस्थल छिम्केश्वरी माइ गाउँपालिकाकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल हो। गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरी माईमा पूजा गरेपछि मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

पृथ्वीराजमार्गको आँबुखैरेनीदेखि लाब्दीसम्म १५ किलोमिटर जीप यात्रा र छोटो पदयात्रापछि छिम्केश्वरी पुगिन्छ। यहाँबाट देखिने अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालका मनोरम दृ्श्यले जोकोहीलाई मोहित बनाउँछ।

पछिल्लो समय छिम्केश्वरीमा दर्शन र पूजाका लागि दैनिक भक्तजन तथा आन्तरिक पर्यटक आउने क्रम बढेको छ। छिम्केश्वरीमा दैनिक ५० देखि एक सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन्। यहाँ विशेषगरी नयाँ वर्ष र फागु पूर्णिमामा भक्तजनको घुइँचो लाग्छ। यो वर्षको होलीमा गत आइतबार पाँच हजार भक्तजनले पूजाआजा गरेको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्ण तामाङले जानकारी दिए।

यो मन्दिरमा तनहुँका अतिरिक्त छिमेकी जिल्ला लमजुङ, गोरखा, चितवनबाट पनि भक्तजन आउने गरेका मन्दिरका पुजारी धनराज गुरुङ बताउँछन्। उनका अनुसार एकादशी र औँसी बाहेकका दिनमा पूजाआजा हुने यस मन्दिरमा पशुबलि दिने परम्परा पनि छ।

गण्डकी प्रदेश सरकारले घोषणा गरेको ११० पर्यटकीय गन्तव्यमा सूचीकृत छिम्केश्वरीमा ४५ लाख रुपैयाँ लागतमा मन्दिर पुनर्निर्माण हालै पूरा भएको छ। प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ। आर्थिक वर्ष ०७५/७६ मा ४१ लाख ६३ हजार ७०० रुपैयाँ लागतमा ४८६ मिटर ढुङ्गाको सिढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष ०७६/७७ मा ३५ लाख ९९ हजार १४१ रुपैयाँ लागतमा ३०५ मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकाले छिम्केश्वरीलाई प्राथमिकतामा राखेको बताए। ‘गाउँपालिकाकै सक्रियतामा मन्दिर पुनर्निर्माण भएको छ। यसको थप विकासका लागि योजना बनाउँदैछौँ, उनले भने।

छिम्केश्वरीसम्म पुग्ने सडकमा कालोपत्र शुरु भएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा यो खण्डमा कालोपत्र गर्न लागिएको हो। सडक कालोपत्रका लागि प्रदेश सरकारबाट आठ करोड ४७ लाख र संघ सरकारबाट समपुरक कोष अन्तर्गत ८ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। सडक कालोपत्रको काम काठमाडौस्थित शर्मा एण्ड काष्ठमण्डप जेभीले ठेक्का पाएको छ।

छिम्केश्वरी पुग्ने भक्तजनको सहजताका लागि छिम्केश्वरीको काखमा घरबास समेत सञ्चालन भएका छन्। बुखैरेनी गाउँपालिका-६ स्थित पर्यटकीय गाउँ हिलेखर्कमा स्थानीयवासीले घरबास सञ्चालन गरेका हुन्। गुरुङ समुदायको बाहुल्य रहेको यहाँका घरबासमा आउनेलाई कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेलरोटी, भुटेको भटमास, गुन्द्रुकको अचार दिइने गरेको घरबास व्यवस्थापन समितिका अध्यक्ष बाटुमाया गुरुङले जानकारी दिनुभयो। हिलेखर्कमा रहेका दुई वटा घुमाउने घरले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउँछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर