Aamsanchar

अझै भेटिएनन् तीन दिनदेखि सुनकोशी नदीमा हराइरहेका तिन बालबालिका

Author Image
मङ्गलवार, चैत १३, २०८०

गाईघाट- तीन दिनदेखि सुनकोशी नदीमा हराइरहेका उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ साउनेका तिन बालबालिका अझै भेटिएका छैनन् । उनीहरूको खोजी कार्यको लागि परिचालन भएको सशस्त्र प्रहरीको गोताखोर टोली पनि फिर्ता भएको छ ।

सोमबार दिनभर पानीमुनि खोजे पनि बालबालिकाको अवस्था पत्ता लगाउन नसकेपछि सशस्त्र प्रहरी बलको टोली फिर्ता भएको उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो ।

आइतबार होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा पौडी खेल्दा त्रियुगा नगरपालिका १४ साउनेका १२ वर्षीय रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगर बेपत्ता भएका थिए ।

बालबालिकाको खोजतलास गर्न सशस्त्र प्रहरी बल नम्बर १ वराह वाहिनी मुख्यालय पकली सुनसरीबाट प्रहरी निरीक्षक उमेश काफ्लेको नेतृत्वमा ११ जना सशस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको ६ जनाको टोली खटिएकोमा करिब २ किलोमिटरसम्म पानी जमेको सबै स्थानमा खोजी गर्दा समेत नभेटाएपछि खोजतलास टोली फर्किएको प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।

गोताखोरको टोलीले समेत नभेट्टाएपछि नदिले बालबालिकालाई बगाएर अन्य स्थानमा लगेको हुनसक्ने भएकाले खोजी कार्यको लागि नदी किनारामा आजबाट थप प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर