Aamsanchar

बिहे भाँडेको आरोपमा पक्राउ परेका बेहुलासहित ५ जना धरौटीमा रिहा

Author Image
बिहिवार, चैत १५, २०८०

वीरगन्ज – वीरगन्जमा गत फागुन २८ गते दाइजोको निहुँमा भाँडिएको विवाहको जग्गेबाटै पक्राउ परेका बेहुलासहित पाँच जना धरौटीमा रिहा भएका छन् ।

वीरगन्ज महानगरपालिका-२४ रामगढवामा गत फागुन २८ गते मध्यरातामा वैवाहिक समारोह चलिरहकै बेला बेहुला पक्षले दाइजोमा सुनको सिक्री नपाएको निहुँमा बेहुली पक्षसँग विवाद गरेपछि बिहे नै भाँडिएको थियो । त्यही विवाद चर्किएर बेहुला र बेहुलीपक्षबिच कुटाकुट पनि भएको थियो ।

बिहे नै भाँडिएपछि प्रहरीले विवाहको जग्गेबाटै बेहुला , उनका बुबा , दाजु , भिनाजुसहित पाँच जनालाई नियन्त्रणमा लिएर उनीहरुविरुद्ध गत चैत ९ गते पर्सा जिल्ला अदालतमा विवाह सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो ।

उक्त मुद्दाको गत आइतबार सुनुवाइ गर्दै पर्सा जिल्ला अदालतका न्यायाधीश दीपक खनालको इजलाशले पाँचै जनासित धरौटी माग गर्ने आदेश दिएको थियो । अदालतको उक्त आदेश अनुसार धरौटी बुझाएर बेहुलासहित पाँचै जना तारेखमा रिहा भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

रिहा हुनेमा बेहुला बाराको कलैया उपमहानगरपालिका-४ सिनेमा हल टोलका उमेश साह , उनका बुबा बच्चालाल साह , बेहुलाका दाइहरू राकेशकुमार साह, मुकेशकुमार साह र बेहुलाको भिनाजु बाराको परवानीपुर गाउँपालिका-५ का रामएकवाल साह रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)