Aamsanchar

हर हर महादेव । राशिफल, ३ वैशाख २०८१, सोमवार

Author Image
आइतवार, वैशाख २, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
धार्मिक र सामाजिक प्रयोजनका काममा चासो बढ्ने समय छ, रमाइला गतिविधिमा आजको दिन व्यतीत हुनेछ, प्रतिभा र सीपको कदर हुनेछ । महत्वपूर्ण कार्य सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ । नयाँ प्रविधिको प्रयोगले ज्ञान र क्षमतामा बृद्धि हुनेछ, अझ कलात्मक विषयमा रुचि छ भने वरिष्ठ कर्मचारीलाई समेत प्रभावित तुल्याउन सकिने छ । साथीसंगीसित रमाइलो भेटघाट हुनेछ, एकआपसका गुनासा सुन्ने दिन हो, देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
मौखिक अभिव्यक्तिका माध्यमबाट नयाँ अवसर मिल्नसक्छ, हातमा अचानक नसोचेको धन प्राप्ति हुनेछ । त्यस्तै कारोबार विस्तारका लागि धनलगानी गर्ने परिस्थिति देखिन्छ । सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ । बडो आनन्द र उमङ्गका साथमा समय बित्नेछ । जीवनसाथीको पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्ने सङ्केत छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ । निर्णय क्षमतामा निखार आउनुका साथै कार्यक्षेत्रमा सहजता आउने तथा मनमा रचनात्मक क्षमताको विकास हुने राम्रो दिन छ, पहिचान दिलाउन तथा कलात्मक भावनालाई प्रस्फुटन गर्न समय अनुकूल देखिन्छ । विपरीत परिस्थिति भए पनि कामलाई कुशलतापूर्वक झेल्नसक्ने सामर्थ्यको विकास गर्न सकिने छ । पेसागत उन्नतिका लागि गरेको प्रयास सार्थक बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्ना भित्री कुरा नबताउनु होला, नत्र बेकारको अफवाह फैलने डर हुन्छ । वैराग्य र निराशाका भाव मँडारिन सक्छन्, तर आज कुनै फाइदा हुने क्षेत्रमा आकर्षण छ वा स्थान परिवर्तन गर्ने मुडमा हुनुहुन्छ भने काम थाल्नुहोस्, लाभ हुनेछ । दौडधूप गर्नुपर्ने काम, ढुवानी÷यातायात वा मार्केटिङमा राम्रो छ, तर काममा आफू स्वयं उपस्थित भएमा मात्र लाभ पाइने दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
कामधन्दामा सहजताको अनुभूति हुनेछ, घरपरिवारमा पनि समझदारी रहने छ । अझ साथीसंगी र बाल्यावस्थाका मित्रसँग भेटघाट हुनाले दिन रमाइलो बन्नसक्छ । महत्त्वाकाङ्क्षा जाग्नेछ, कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ । दाजुभाइको सरसहयोगमा केही समय बिताउनुपर्ने हुन्छ, त्यस्तै परिवारजनको आवश्यकता वा छोराछोरीको उन्नतिप्रगतिका निमित्त पनि खट्नुपर्ने समय छ । राज्यपक्ष वा प्रशासनिक कामका साथै प्रतिष्ठा जोडिएको काममा सफलता मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
करियर र भविष्यको सोच सलबलाउनेछ, कोसिस गरेमा कला, वाणिज्य, व्यवस्थापन र शिक्षाशास्त्रका उच्च तहका विद्यार्थीले कुनै अवसरसमेत पाउन सक्नुहुन्छ । कर्तव्यप्रति सचेत हुने तथा जिम्मेबारी बोध हुने राम्रो दिन छ, सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ, अझ समाजसेवा वा राजनीति नै कार्यक्षेत्र हो भने मानसम्मान पाउन सक्नुहुन्छ । पुरस्कार प्राप्त गर्ने ग्रहयोग बनेको छ, त्यसैले आलस्य त्यागेर मिहिनेत गरेमा राम्रो उपलब्धि हासिल हुने दिन हो, प्रतिस्पर्द्धीसमेत सहयोग माग्दै तपाईंसामु आउनसक्छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
सहयोगको भावना पलाउने दिन हो, कुनै महत्त्वपूर्ण काममा कसैको सहयोग गर्नुपर्ने वा परोपकारी काममा लगानी गर्ने परिस्थिति बन्नेछ । व्यापारबट्टा र आर्थिक क्रियाकलापबाट सदा झैं फाइदा नै हुनेछ, नयाँ ठाउँमा लगानी गर्ने मनसाय छ भने अघि बढ्नु उचित हुन्छ । पतिपत्नीका बीचमा कुनै विवाद छ भने भलाकुसारीका माध्यमबाट त्यसलाई हल गर्न एकसाथ कतै घुमघाममा वा किनमेलमा जाने अनुकूलता मिलाउनु ठीक हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ । हाकिमको कचकच बढ्नेछ, अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने बाध्यता हुनेछ, तापनि प्रयत्न गर्दा लाभमूलक क्षेत्रको पहिचान गर्न सकिने छ । मनमा चिन्ता र निराशा बढ्ने दिन हो, त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको गुनासो बढ्ने गर्दछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
कार्यालयमा नौलो कामको जिम्मा लिएर मज्जाले खट्नुपर्ने समय छ, तर आज घरपरिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ । इच्छाअनुरूप एकान्तमा बस्न पाउने अवसर मिल्नेछ, यस अवसरमा मनमा जरो गाडेर बसेको कुनै कुरा छ भने साथीलाई बताउनु होला । प्रेमसम्बन्ध र दाम्पत्य सुखका लागि महत्त्वपूर्ण दिन छ । पारिवारिक वातावरण पनि सुमधुर रहनेछ । घुमघाम र मस्तीमा खर्च बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
कुनै आधिकारिक वार्तालाप वा व्यापारिक बैठकका बारेमा उत्सुकता बढ्ने समय हो, नयाँ करार वा समझौताको सम्भावना पनि देखिन्छ । झैझगडा वा विवादबाट टाढा बसेको जाति हुन्छ, अर्काको काम वा विषयवस्तुमा ध्यान दिएमा अवगाल वा अपजस खेप्नुपर्ने समय छ । ओभर कन्फिडेन्समा नरहनु होला, परीक्षा वा प्रतिस्पर्द्धा नजिकै आएको छ भने खेलवाड र मनोरञ्जनलाई पूर्णतया त्यागेर थप मिहिनेत गर्नु समुचित हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
सांसारिक सुखप्रतिको झुकाव बढ्नेछ । जुनियर स्टाफको अभावमा कारोवार प्रभावित बन्नसक्छ, तर घरका कनिष्ठ नातेदारको सहयोग लिन सकिने छ । छोराछोरीको क्रियाकलाप र उन्नति÷प्रगति देखेर दंग पर्ने तथा सुखानुभूति हुने दिन हो । परिवारजनको सहमति जुट्नाले नचिताएको काम सम्पन्न गर्न सकिने छ । बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
बाध्यात्मक घरायसी काममा खट्नुपर्ने हुँदा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ, तथापि श्रम गरेबमोजिम राम्ररी नै कार्यालयको काम सम्पादन हुनेछ । विश्वासको सङ्कट देखापर्न सक्छ, ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला । परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुनसक्छ । मिहिनेत गर्दा लक्ष्यको नजिकै पुग्न सकिने छ, तर मनमा छटपटी र कौतूहलता व्याप्त हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर