Aamsanchar

श्री गणशाय नम: आजको राशिफल । ५ वैशाख २०८१, बुधवार

Author Image
मङ्गलवार, वैशाख ४, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

व्यस्ततामा दिन बित्नेछ, तथापि कामको चापबाट फुर्सद निकालेर आज केही समय घरपरिवार र छोराछोरीका लागि छुट्याउनु राम्रो हुन्छ । लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । गर्दै नगरेको र थोरै सहभागिता जनाएको कुनै काममा फँस्नसक्ने समय छ, अथवा कुनै झूठो आक्षेप व्यहोर्नुपर्ने वा झगडा हुने दिन हो । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ । माइतीपक्ष वा दिदीबहिनीका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । धार्मिक प्रयोजनको काम वा सामाजिक क्रियाकलापमा पनि दौडधूप गर्नुपर्ने दिन हो । अध्ययनमा रुचि जाग्नेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ । उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूर्ण सहयोग मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अचानक कुनै मित्रसँग भेटघाट हुने अथवा कुनै नयाँ अवसरको उपयोग गर्ने दिन हो, प्रभावशाली कुराकानीका माध्यमबाट तपाईंले आफ्नो अन्तर्वार्ता, प्रजेन्टेसन, र बैठकहरूमा अरुमाथि राम्रो छाप छोड्न सक्नुहुन्छ । कार्यक्षेत्रमा परिवर्तन गर्ने वा नयाँ ठाउँमा सरुवा हुने धारणा पलाउनेछ, थप आयश्रोत बढाउने विषयका साथै आयका मार्ग सुचारु गर्न चिन्तन गर्न सक्नुहुन्छ । सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
प्रत्येक काममा बाधा आउने र ढिलो हुने सम्भावना छ । कहिलेकाँही असुरक्षाको हीनभावना विकसित हुनसक्छ । कामको बोझ बढ्नेछ । आम्दानी बढ्नेछ । कुनै प्रशासनिक वा व्यवस्थापकीय कार्यका लागि अनुकूल समय छ । तामा र रातो चिजबीजमा फाइदा देखिन्छ । जीवनसाथी र परिवारका सदस्यहरूको पूर्ण सहयोग रहने दिन छ । तर तपाईंको हठ र जिद गर्ने बानी छ भने समस्या निम्तिनसक्ने समय हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन्, मानसिक शान्ति र विश्रामप्रति आकर्षित बन्दा राम्रो हुन्छ । खर्चको मात्रामा अचानक बृद्धि हुनसक्छ, अझ नजिकैको आफन्त वा मनमिल्ने साथीसँगको साझेदारीमा कुनै कारोबार गर्नुछ भने आज सावधानीपूर्वक कदम चाल्नु आवश्यक देखिन्छ, अन्यथा आर्थिक क्षति हुने दिन हो । मन अस्थिर र कातर बन्ने कमजोर समय छ, कतिपय विषयको निर्णय लिनुपर्दा दोधारेपन देखिने छ । सँगीसाथी र सहकर्मीको मद्दत लिएको जाती हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नयाँ योजना कार्यान्वयन गर्ने दिन हो, दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने र प्रशासनिक तौरतरिका बुझ्ने समय आएको छ । परिस्थितिवश जिम्मेबारीबाहिरको काममा अलमलिनु पर्ने हुन्छ । काममा विलम्ब भए पनि कुनै विशेष काम सम्पादन गर्ने दिन हो । एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आत्मविश्वास र दृढतामा बृद्धि हुनुका साथै मज्जाले परिश्रम गर्ने दिन हो । कारोबारमा बेफाइदा हुँदैन, तर पारिवारिक सम्बन्धमा निरसता देखिने छ । दाम्पत्य जीवन सुखमय नै रहनेछ, तर थप जिम्मेबारी र दायित्व बढ्ने समय छ, घरपरिवारभित्रकै वा आफन्तको काममा अलि बढी खट्नुपर्ने दिन हो । क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, विभिन्न अवसर प्राप्त हुनाका साथै उच्च अधिकृतहरूसँग उठबस र मित्रता हुनसक्ने समय हो । पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ । गरेको मिहिनेत र भएका प्रयासको राम्रो परिणाम प्राप्त हुने राम्रो दिन छ । मन अध्यात्म र दार्शनिकतातर्फ मोडिने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
परिवार र साथीहरूप्रतिको तपाईंको भावनाले चिन्ता बढाउन सक्छ, त्यस्तै स्वभावमा चिडचिडेपन र तनाव बढ्नाले आपसी भेटघाटमा नोकझोक र किचलोसमेत हुनसक्छ । कुनै महत्त्वपूर्ण चिजबिज हराउने वा नाश हुने खतरा छ । सिनियर स्टाफ, हाकिम वा गुरुजनसँगको सम्बन्धमा नकारात्मकता देखिने छ । अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु ठीक हुन्छ । खनिज पदार्थ र पुरातात्त्विक चिजबीजको व्यवसायमा फाइदा देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आन्तरिक तिर्सनाको परिपूर्ति हुने दिन हो । पतिपत्नीका बीचमा समझदारी बढ्नेछ । आज कुनै भनुँ भनुँ लागेको कुरा बताउने दिन हो । आफ्नो खूबी, क्षमता र आन्तरिक प्रतिभालाई बाहिर निकालेर प्रतिष्ठा कमाउने समय हो, लुकेको कलात्मक प्रतिभाको प्रस्फुटन हुनाले भविष्य सुध्रने छ । रामरमाइलो र रमझमप्रति मनको आकर्षण रहने सुन्दर दिन छ । मनमा नयाँ उमङ्ग पलाउने छ । विवाहयोग्य उमेर छ र अविवाहित हुनुहुन्छ भने कुनै व्यक्तिप्रति विशेष आकर्षणसमेत बढ्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
घमण्ड र क्रोधमा बृद्धि हुनसक्छ, तर पनि व्यक्तिगत कार्य र पारिवारिक जिम्मेबारीका बीच तालमेल मिलाउन सकेमा विवाद एवं अपजसबाट बच्न सकिन्छ । निराशा र कुण्ठा बढ्ने समय हो, नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयत्न गर्नुपर्छ, नयाँ बाटो पहिल्याउन सकिन्छ । लोकप्रियता बढ्ने तथा साझेदारी व्यवसायमा लाभ पाउने समय हो, तथापि अधिकार प्राप्ति वा भविष्यको चिन्ताले सताउन सक्छ, पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्, तापनि चुनौती चिर्दै काम बनाउन सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् । सोच्ने सामर्थ्यमा कमी भएको आभास हुनेछ, एकान्तमा मात्र मन रमाउने दिन हो, तर आज सामाजिकता र सहकार्यमा ध्यान दिनु ठीक हुन्छ । सन्तान वा सहयोगी कामदारको सहयोग लिएर व्यवस्थापन पक्षको लथालिङ्गलाई मिलाउन प्रयास गरिने छ, बुद्धिकौशल तथा समझदारीले कमीकमजोरी हटाउन सकिने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर