Aamsanchar

सडक मार्ग सहज बनेपछि मुस्ताङमा पर्यटकको लर्को, एक वर्षमा साढे चार लाख जना पुगे

Author Image
शुक्रवार, वैशाख ७, २०८१

पर्वत – सडक मार्ग सहज बनेपछि मुस्ताङमा पर्यटकको लर्को लाग्न थालेको छ। बिदा सदुपयोग र तीर्थयात्रा गर्ने आन्तरिक पर्यटकदेखि प्राकृतिक दृश्य नियाल्न चाहने बाह्य पर्यटकसम्मलेमुस्ताङ भरिभराउन हुन थालेको हो।

केही वर्षअघिसम्म पोखराबाट म्याग्दीको बेनीसम्मको सडक सहज भए पनि बेनीबाट मुस्ताङ जाने सडकमार्ग चुनौतीपूर्ण थियो। तर पर्यटकलाई ध्यानमा राखेर सडक पूरा भएपछि मुस्ताङ आवतजावत सहज बनेको छ। यही कारण पनि पर्यटनको राजधानी कास्कीको पोखराबाट नजिकै रहेको मुस्ताङ पुग्नु आन्तरिक र बाह्य पर्यटकका लागि रहर बन्दै गएको छ।

एक वर्षको अवधिमा सडकमार्गबाट मात्र चार लाख भन्दा बढी पर्यटक मुस्ताङ पसेका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार म्याग्दी मुस्ताङ छिर्ने नाका अन्तर्गतको घासा प्रहरी चौकीमा रहेको तथ्याङ्क अनुसार गत वर्षको वैशाख एक गतेदेखि चैत मसान्तसम्म चार लाख १४ हजार २८० जना मुस्ताङ पुगेका छन्।

यीमध्ये आन्तरिक पर्यटकहरूको संख्या तीन लाख ३५ हजार ४६६ रहेको छ। उनीहरूमध्ये दुई लाख २० हजार ७२४ जना पुरुष छन्। महिलाको संख्या एक लाख १४ हजार ७४२ छ। यही अवधिमा ७८ हजार ८१४ बाह्य पर्यटक मुस्ताङ घुमेका छन्। यीमध्येका पनि ७२ हजार ७५६ जना सार्क राष्ट्र भित्रका हुन् भने छ हजार ५८ जना सार्क राष्ट्र बाहिरका हुन्। सार्क राष्ट्रबाट ३८ हजार ८२१ जना पुरुष र ३३ हजार ९३५ जना महिला छन्। सार्क राष्ट्र बाहिरबाट तीन हजार ६४८ पुरुष र दुई हजार ४१० महिला मुस्ताङ पुगेका छन्।

एक वर्षको अवधिमा हवाई मार्गबाट ११ हजार ४८४ पर्यटक मुस्ताङ भित्रिएका छन्। यीमध्येका एक हजार १३४ जना पुरुष र ५४५ महिला गरी एक हजार ६७९ आन्तरिक पर्यटक हुन्। सार्क राष्ट्रबाट तीन हजार ७६७ जना पुरुष र चार हजार २८८ महिला गरी आठ हजार ५५ पर्यटकले मुस्ताङ घुमेका छन्। सार्क राष्ट्र बाहिरबाट ८८६ जना पुरुष र ८६४ जना महिला गरी एक हजार ७५० पर्यटक मुस्ताङ भित्रिएका छन्।

सडकको सहज पहुँचदेखि सामाजिक सञ्जालहरूको बढ्दो प्रभावका कारण पनि पछिल्ला वर्षहरूमा पर्यटकको सङ्ख्या बढ्दै गइरहेको कागबेनीका होटेल व्यवसायी छेप्तेन गुरुङ बताउँछन्। अहिले पनि मुस्ताङका होटेल भरिभराउ अवस्थामा रहेको र भित्रिनेहरूको संख्या बढेको उनको भनाइ छ। ‘सडकको सहजता र सामाजिक सञ्जालहरूको प्रभाव बढेकै कारण मुस्ताङले धेरै पर्यटक पाउँदै गएको हो। मुस्ताङ घुम्नेहरूले टिकटक, युट्युब र फेसबुक लगायतमा हालेका फोटा र भिडियो संसारभर पुगेका छन्।

‘सामाजिक सञ्जालले नै यहाँको प्रचार गरिरहेको छ’, उनले भने, ‘अर्कोतर्फ सडक पनि सहज भएको छ। विगतमा जस्तो चुनौतीपूर्ण सडक भएको भए प्रचारले मात्रै पनि काम गर्ने थिएन। फागुनदेखि मुस्ताङ घुम्ने मौसम शुरु हुने भएकोले यति बेला यहाँका सबै होटेल भरिएका छन्।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर