Aamsanchar

आज हनुमान जयन्ती, हनुमान को हुन् ?

Author Image
मङ्गलवार, वैशाख ११, २०८१


हनुमान एउटा बाँदर देवता हुन् । कलियुगमा श– शरीर उपस्थित हुनु भएक भगवान केवल हनुमान मात्रै हुन् । उनी रामायणको सबैभन्दा दयावान् अनि शक्तिशाली पात्रका रुपमा चिनिन्छन् । ऐतिहासिक रूपमा अझै उत्खनन र अन्वेषण गर्नुपर्ने हनुमान, धार्मिक रूपमा एउटा कोशेढुङगा अनि सामाजिक रूपमा मानिसले पुजेका जनावर देवता हुन् ।

हमुमानको माता पिता को हुन् ?
हनुमानकी आमा अञ्जना एउटी अप्सरा हुन् । अन्जानेरी पर्वतमा जन्मिएकी अन्जना आफूमाथि परेको श्रापको कारणले पृथ्वी लोकमा बसेकी हुन् । हनुमानका पिता सुमेरु पर्वतका राजा बृहस्पतिका छोरा केशरी हुन् । त्यसबाहेक, हनुमानका मतिमान, श्रुतिमान, केतुमान, गतिमान र धृतिमान नामक ५ साना भाइहरू छन्।

हनुमानलाई वायु पुत्र या पवन पुत्र किन भनिन्छ ?
आमा अञ्जनाले लामो समयसम्म भगवान् शिवको आराधना गरेपछि उनको आराधनाले भगवान् शिव प्रसन्न भए। त्यसपछि शिवले भगवान् वायुलाई आफ्नो पुरुष शक्ति अनि ऊर्जाहरूलाई केन्द्रित गरेर अञ्जनाको गर्भमा भरिदिन भनेपछि हनुमान गर्भमा आएकाले हनुमानलाई वायु पुत्र या पवन पुत्र भनिन्छ । हनुमान बाहेक महाभारतका कुन्तीपुत्र भीम पनि पवनपुत्र हुन् ।

हनुमानलाई कसले र के श्राप दिएका थिए ?
चकचके र चञ्चले स्वभावका हनुमानले साधु सन्तलाई दुःख दिने, ऋषिहरूको तपस्यामा बाधा पुर्याउने गर्थे । त्यसैले एकपटक एउटा ऋषिले उनलाई आफ्नो शक्ति बिर्सने र अरु कसैले सम्झाइ दिए मात्रै आफ्नो शक्तिको याद आउने श्राप दिन्छन् ।

हनुमान भगवान् रामका परम भक्त थिए । हनुमान प्रत्येक समय भगवान राम र सिताको सेवाको लागि तत्पर रहन्थे । उनको भक्ति भाव साह्रै अनुकरणीय छ । त्यसैले उनलाई भक्ति शिरोमणि भनिन्छ । त्यसबाहेक, हनुमानलाई बजरङ्गबली, केशरी नन्दन, पवन कुमार, मारुती, संकट मोचक आदि नामहरूले पनि चिनिन्छ ।

भगवान् राम र हनुमानको भेट कहाँ भएको थियो ?
वनबास आएको बेला पत्नी सीता हराएकी चिन्तामा भएका रामको भेट आफ्नो भक्त हनुमानसँग भयो । हुन त भगवान् श्रीरामको जन्म भएपछि बालक रामको दर्शन गर्न हनुमान महादेव मदारीको रुप धारण गरि अयोध्या गएका थिए । उनले त्यसबेला बालक रामलाई आफ्नो वानर नृत्य देखाएर फर्किएका थिए ।

हनुमानजीका केही रोचक कथाहरू

लंका जलाएको
अंगद, जामवंतजस्ता वीरहरूले १०० योजन लामो समुन्द्र पार गर्न नसक्ने भएपछि श्री रामको आज्ञा मानेर समुन्द्रमा उफ्रिएर हनुमान पारि लङ्का पुगे, त्यहाँ पुगेर उनी लंकिनीहरुसँग बच्दै सीतालाई राखिएको अशोक वाटिका पुगे र श्रीरामको सन्देश सीतालाई दिए। त्यही अशोक वाटिकाको फलहरू तोडेर खाँदै गर्दा एकजना सैनिकले हनुमानलाई देखेर उनलाई बन्धक बनाएर रावणको अगाडि लागे । त्यहाँ रावणले सैनिकलाई हनुमानको पुच्छरमा आगो लगाउने आदेश दिए । हनुमानको पुच्छरमा आगो लागेपछि उनले त्यहीँ पुच्छरको आगोले एक ठाउँबाट अर्को ठाउँ उफ्रिदै गएर लङ्का जलाए । हनुमानले सीता माता बस्ने भएकाले अशोक वाटिका र श्री रामको नाम अंकित गरिएकाले विभीषणको घर भने जलाएनन् ।

सञ्जीवनी पहाड उठाएको
लङ्कामा मेघनाथ र लक्ष्मण बीच युद्ध हुँदा मेघनाथको वाण लागेर लक्ष्मण घायल भए । आफ्नो भाइको त्यो अवस्था देखेर श्रीराम विलाप गर्न थाले । त्यसपछि एकजना वैधले लक्ष्मणलाई बचाउने सञ्जीवनी बुटी पर्वतमा पाइने बताएपछि हनुमानले त्यो पर्वत पुगे । तर त्यहाँ सञ्जीवनी बुटी कुन हो भनेर पत्ता लगाउन भने सकेनन् । त्यसपछि हनुमानले त्यो पर्वत नै उठाएर लक्ष्मण भएको ठाउँमा लिएर आए । त्यो सञ्जीवनी बुटी लगाएपछि लक्ष्मण ठिक हुन्छन् ।

छाती चिरेर राम सिता देखाएको
लङ्कामा रावणको वध गरेर अयोध्या फर्किएपछि एकदिन सभामा माता सीताले हनुमानको शक्ति र उनले गरेको मद्दतको लागि उनलाई मोतीको हार दिन्छिन् । तर हनुमानले त्यो हार स्वीकार्दैनन् । हनुमानले यदि कुनै वस्तुमा राम नभए त्यो वस्तु आफूलाई स्वीकार्य नभएको बताउँछन् । त्यसपछि सभामा हनुमानको नशा नशामा राम नभए हनुमान नि बेकार भएको भनेर सबैले हनुमानलाई गिज्याउन थाल्छन् । त्यसपछि हनुमानले आफ्नो छाती चिरेर आफू भित्र भएको राम सिता सभामा भएका सबैलाई देखाइदिन्छन् ।

हनुमानलाई किन जीवित देवता मानिन्छ ?
रावणसँग युद्ध पश्चात् रामले बिदाइ गर्ने क्रममा हनुमानलाई उसको इच्छा सोध्दा हनुमानले संसारमा रामको नाम चलि रहुन्जेलसम्म आफू पृथ्वी लोकमै रही रहने इच्छा प्रकट गरेपछि भगवान् रामले वरदान दिनुभएको थियो । यसअर्थमा हनुमान जीवित देवताका रुपमा अझै पनि हामीमाझ छन् ।

के हनुमानको पुजा नेपाल र भारतमा मात्र गरिन्छ ?
भगवान् हनुमानको पूजा नेपाल र भारतमा मात्र नभई बंगलादेश, म्यानमार, थाइल्यान्डमा लगायतका देशहरूमा गरिन्छ । थाइल्याण्डको सुवर्णभूमि विमानस्थलमा सुरक्षाको लागि भनेर हनुमानका दर्जनौँ मूर्ति राखिएका छन् । त्यहाँको स्थानीय भाषामा भने भगवान हनुमानलाई अर्कै नामले पुकारा गरिन्छ।

भगवान हनुमानलाई किन सिन्दूर लगाइन्छ ?
लङ्काबाट अयोध्या फर्किएपछि सीताको सिउँदोमा सिन्दूर देखेर हनुमानले जिज्ञासा प्रकट गर्दछन् । सीताले यो विवाहित महिलाले आफ्नो पतिको जीवनको दीर्घायुको लागि लगाउने गर्छन् भनेर जवाफ दिनु हुन्छ । यो सुन्ने बितिक्कै हनुमानले पनि आफ्नो पुरै शरीरमा सिन्दूर लगाउँछन् । यो देखेर भगवान रामले प्रसन्न हुँदै भन्नु हुन्छ कि जो कोहीले हनुमानलाई सिन्दूर लगाइदिन्छन् उनीहरूको बाधा , कठिनाइ दुःखहरू जीवनबाट हट्ने छन् ।

भगवान् हनुमानको पूजा विशेष कुन दिन गरिन्छ ?
शास्त्र अनुसार भगवान हनुमानको जन्म मङ्गलवार भएकाले मङ्गलवार हनुमानको पूजा गरिन्छ । त्यसबाहेक, भगवान् हनुमानको पूजा शनिवार पनि गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर