Aamsanchar

धनगढी उपमहानगरमा अब स्मार्टबोर्डबाट अध्यापन, नमुना विद्यालय सार्वजनिक बिदाको दिन पनि खुल्ने

Author Image
बुधवार, वैशाख १२, २०८१

धनगढी – शिक्षा सुधार वर्ष मनाइरहेको धनगढी उपमहानगरमा अब स्मार्टबोर्डबाट अध्यापन हुने भएको छ । मंगलबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयमा स्मार्टबोर्डबाट पठनपाठन सुरू भएको हो ।

शिक्षाविद तथा सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिष्टार प्राध्यापक डाक्टर हेमराज पन्तले स्मार्टबोर्डको सुरुवात गरे । नमुना विद्यालयका कारण सर्वसाधारणका छोराछोरीले निःशुल्क र स्तरीय शिक्षा पाउने हुँदा सरकारी विद्यालयप्रति विश्वास बढ्ने प्राध्यापक डाक्टर हेमराज पन्तले बताए ।

नमुना विद्यालय घोषणा भएका धनगढीको ग्रामीण क्षेत्रका पाँचवटा विद्यालयलाई प्रतिविद्यालय १० वटाका दरले उपमहानगरपालिकाले स्मार्टबोर्ड वितरण गरेको थियो । यो वर्ष धनगढी उपमहानगरपालिकाले घोषणा गरेका पाँचवटा नमुना विद्यालयलाई प्रत्येकलाई १० का दरले ५० वटा स्मार्टबोर्ड वितरण गरिएका थिए ।

 

उपमहानगरले सिद्धनाथ माविलाई पनि नमूना विद्यालय घोषणा गरेको छ । उक्त विद्यालयमा कक्षा १ देखि १० सम्म स्मार्टबोर्डका माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप गर्न थालिएको हो । सरकारी विद्यालयको पठनपाठन स्तरीय बनाउन र विद्यार्थीलाई प्रविधिको ज्ञान दिन स्मार्टबोर्डको प्रयोग गर्ने योजना बनाइएको उपमहानगरले जनाएको छ ।

स्मार्टबोर्डको प्रयोगबाट शिक्षण गर्न निकै सहज भएको विद्यालयका शिक्षक तेजराज भट्टले बताए । उनले शिक्षकलाई शिक्षण गर्न तथा विद्यार्थीलाई बुझ्न स्मार्टबोर्ड निकै उपयोगी रहेको बताए । ‘स्मार्टबोर्ड जडानपछि हामीलाई पढाउन र कुरा बुझाउन निकै सहज भएको छ । विद्यार्थीले पनि शिक्षण सिकाइ क्रियाकलापमा रुचि देखाएका छन’ शिक्षक भट्टले भने ।

नमुना विद्यालय सार्वजनिक बिदाको दिन पनि खुल्ने

धनगढी उपमहानगरपालिका भित्रका नमुना घोषणा भएका विद्यालयहरू शनिबारबाहेक, सार्वजनिक बिदाको दिनसमेत खुल्ने भएका छन् । नगरपालिकासँग कार्यसम्पादन सम्झौता गर्दा नै नमुना विद्यालयले अनावश्यक हुने सार्वजनिक बिदाको दिनसमेत विद्यालय चलाउने भन्दै वार्षिक कार्ययोजना बनाएका हुन् ।

विद्यार्थीको सिकाइमा सुधार गर्नका लागि सार्वजनिक विदाको दिनसमेत नियमित पठनपाठन गरिने विद्यालयहरुले जनाएका छन । गत वर्ष नमुना घोषणा भएका धनगढीका पाँच विद्यालयले शनिबार बाहेक अन्य सार्वजनिक बिदाका दिनसमेत पठनपाठन गर्ने वार्षिक कार्ययोजना बनाएका हुन् । सार्वजनिक बिदाको दिनसमेत विद्यालयमा पठनपाठन गराएर हरेक कक्षाको नतिजा उत्कृष्ट ल्याउन विद्यालयका सबै शिक्षक कस्सिएर लागेको प्रधानाध्यापक प्रेमबहादुर शाहीले बताए ।

‘हामीले नगरपालिकासँग गरेको वार्षिक कार्यसम्पादन सम्झौतामा समेत शनिबार बाहेकका सार्वजनिक बिदामा विद्यालय खोल्ने निर्णय गरेका छौँ । नमूना विद्यालयमा अरु विद्यालदयको भन्दा बढी दिन विद्यालय खुल्नेछ,`उनले भने । ‘गत वर्ष कक्षा ८ को नतिजा केबल ७ प्रतिशत थियो,यो वर्ष सुधार भएर ६० प्रतिशत पुगेको छ । अझै सबै कक्षाको नतिजा उत्कृष्ट ल्याउने हिसाबले हामी सबैले मेहनत गरिरहेका छौं।’

ग्रामीण क्षेत्रका विद्यालयलाई नमुना बनाउन प्राथमिकता

धनगढी उपमहानगरपालिकाले सामुदायीक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन नमूना घोषणा गर्दै भौतिक तथा शैक्षिक सामग्रीसहित विषयगत शिक्षकको व्यवस्थापन गर्ने भएको छ । ग्रामीण क्षेत्रका विद्यार्थीलाई समेत प्रतिस्पर्धी र क्षमतावान बनाउन ग्रामीण क्षेत्रका विद्यालयलाई हरेक वर्ष नमुना बनाउँदै लग्ने योजना रहेको मेयर हमालले बताए । सरकारी विद्यालयप्रतिको धारणामा परिवर्तन ल्याउन नमूना विद्यालयमा आधुनिक शैक्षिक सामग्री, भवन, फर्निचर र आवश्यक सबै सुबिधा उपलब्ध गराउने मेयर हमाले बताए ।

‘हाम्रो निर्वाचित टिमले ग्रामीण क्षेत्रका विद्यालयको सुधार गर्ने योजनाअनुसार नमुना विद्यालय घोषणा गरिएको हो । हरेक वर्ष पाँच वटाका दरले नमुना विद्यालय बढाउदै लैजाने लक्ष्य छ’ हमालले भने । ‘ग्रामीण क्षेत्रका बालबालिकाले निःशुल्क स्तरीय शिक्षा हासिल गरेर अरु जस्तै प्रतिष्पर्धामा उत्रन सकून् भनेर नञमूना विद्यालय घोषणा गरिएका हुन् ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर