Aamsanchar

साहित्यका सेलिब्रेटी साइग्रेसले बिर्तामोडमा कथा सुनाउने

Author Image
बिहिवार, वैशाख १३, २०८१


बिर्तामोड । जीवनको भोगाई, वर्तमान र भविष्य बारे प्रेरणादायी कथा सुनाएर युवा पुस्तामा लोकप्रिय बन्न सफल साहित्य, कथाकार साइग्रेस पोखरेलले झापाको बिर्तामोडमा संगीतमय कथा प्रस्तुत गर्ने भएका छन् ।
शब्द यात्रासँग साइग्रेस कार्यक्रम अन्तरगत बैशाख १५ गते दोस्रो संस्करण कथा यात्राको सुरुवात बिर्तामोड बाट हुने भएको आज बिर्तामोड स्थित सिआइसी एजुकेसन हबको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताइएको छ ।

सिआइसी एजुकेसन हबको आयोजनामा बिर्तामोड –२, चारपाने स्थित पर्शुराम पार्टी प्यालेसमा संगीतमय कथा प्रस्तुत हुने आयोजक संस्था सिआइसी  बिर्तामोडकी मेनेजर आश्मा लुइटेलले जानकारी दिइन ।
युवा विद्यार्थी वर्गलाई साइग्रेसको कथाले छुनेगरेको र उनको कथाले सहभागीहरूलाई मन्त्रमुक्त बनाउनुको साथै, लक्ष्य प्राप्त गर्न बाटो देखाउने, सकारात्मक बन्न सिकाउने भएकाले कार्यक्रमको आयोजना गर्न लागिएको मेनेजर लुइटेलको भनाई छ ।

जादुमयी आवजका धनी साइग्रेस काठमाडौंमै जन्मे–हुर्केर स्पेनलाई कार्यथलो बनाउँदै आएका छन् । साइग्रेसको पाँचवटा अडियो उपन्यास उनको आफ्नै युट्युब मार्फत सार्वजनिक भएको छ । उनी आफ्नो कथामार्फत देश, युग, भूगोल, जीवन, राष्ट्रियता, प्रेम हुँदै समाजमा विद्यमान रहेको विकृति विसंगतिमाथि पनि आवाज उठाउँछन् । युट्युवमा राखिएको उनको पहिलो अडियो उपन्यास ‘अधुरो प्रेम’ ३० लाखभन्दा धेरै पटक सुनिएको÷हेरिएको छ । उक्त उपन्यासलाई अहिले उनले किताबको रुपमा आकार दिन थालेका छन् ।
उनी भन्छन्, ‘आफ्नो सिर्जना र भावनाले पनि समाजमा एउटा प्रभाव पर्छ । त्यो कथाबाट पाइने एउटा सफलता हो । साहित्यको माध्यमबाट आफूलाई व्यक्त गर्न सक्नु राम्रो हो । नयाँ युवापुस्ता साहित्यमा बढी आकर्षित हुँदा खुसी लाग्छ । मलाई पनि आफ्नो कथाले कतै न कतै कुनै न कुनै माध्यमले प्रभाव पारेको छ जस्तो लाग्छ, मैले सुनाउने कथा लाई कथाको रुपले मात्र बुझन नहुने यो विचारको मन्थन हो ।’
साइग्रेसले शब्द यात्रा अन्तरगत विश्वका १८ भन्दा धेरै देश भ्रमण गरिसकेका छन् । पहिलो संस्करण मार्फत ५५ सृखला  कथा सुनाई सकेका छन् ।

साइग्रेसले दोस्रो संस्करणमा नेपालका ६ वटा शहरहरुमा कथा वाचन गर्ने भएका छन् । बिर्तामोड पछि इटहरी, नारायणगढ, बुटवल, पोखरा र काठमाडौंमा कथा सुनाउने तालिका रहेको पत्रकार भेटघाट कार्यक्रमका सञ्चालक नवीन भण्डारीले जानकारी दिए ।

साइग्रेसको प्रस्तुति सुन्न र हेर्न आयोजकले निशुल्क पासको व्यवस्था गरेको छ । ८ सय जना सहभागी हुने आयोजकको लक्ष्य रहेकोमा हाल सम्म ६ सय भन्दा धेरैले पास लिइसकेको बताइको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर