Aamsanchar

नेपाल पत्रकार महासंघ झापाले २५ जना पत्रकारलाई सम्मान गर्यो (फोटो फिचर सहित)

Author Image
मङ्गलवार, वैशाख १८, २०८१

बिर्तामोड  ।  नेपाल पत्रकार महासंघ झापा शाखाले  १४ औं अधिवेशन उद्घाटनसत्रको दिन २५ जना पत्रकारहरूलाई सम्मान गरेको छ ।  झापा शाखाले हिजो विभिन्न विधा अन्तरगत पत्रकारहरूलाई सम्मान गरेको हो ।

विगतदेखि नै बितरण गर्दै आएको नेपाली पत्रकारिताका जन्मदाता मोतिराम भट्टको स्मृतिका स्थापित मोतिराम पत्रकारिता पुरस्कार यस वर्ष दुई जना पत्रकारहरूलाई संयुक्त रुपमा प्रदान गरेको छ । रु एक लाख १ हजार एक सय ११ रुपैयाँ सहितको उक्त पुरस्कार प्रेस स्वतन्त्रताको पक्षमा संघर्ष गर्दै पत्रकारिताको व्यवसायिकतामा मर्यादा बढाउन योगदान दिएको भन्दै दुई जना पूर्व अध्यक्षहरु केशव आचार्य र कृष्ण हुमागाईँलाई संयुक्त रुपमा पुरस्कार प्रदान गरिएको छ ।
यसै वर्षदेखि नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा पुरस्कार दिन सुरु गरिएको हेम–सरिता फाउण्डेसन टेक्सास अमेरिकाले संयोजन गरेको ‘टङ्क प्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार’ भद्रपुर निवासी पत्रकार राजबाबु शंकरलाई नगद ५० हजार ५ सय ५५ रुपैयाँ सहित प्रदान गइएको थियो ।

हेम–सरिता फाउण्डेसन अमेरिका र नेपाल पत्रकार महासंघ झापा शाखाले गरेको सम्झौता बमोजिम फाउण्डेसनका संस्थापक हेम पाठक र सरिता पाठकले पिता टंकप्रसाद पाठक र माता रमादेवी पाठकको स्मृतिका प्रत्येक वर्ष प्रदान गरिने गरी रु ५ लाखको अक्षयकोष स्थापना गरिएको छ । उक्त कोषको ब्याजबाट भष्ट्राचार विरुद्ध तथा सुशासन प्रर्वद्धनका लागि पत्रकारिता मार्फत महत्वपूर्ण योगदान दिने पत्रकारलाई पुरस्कृत गरिने फाण्डेशनको उद्देश्य रहेको छ ।
त्यस्तै झापा अग्रज पत्रकार श्यामकृष्ण उपाध्यायद्वारा सम्पादित झापाको पहिलो पत्रिका केटोको सम्मानमा स्थापित केटो पत्रकारिता पुरस्कार आमसंचार डटकमका सम्पादक तथा पूर्वाञ्चल डटकम संयोजक नरेन्द्र ढकाललाई नगद २५ हजार पाँच सय ५५ रुपैयाँ र सम्मान पत्र प्रदान गरियो ।

त्यसैगरी अधिवेशनमा २५ हजार राशीसहितको लैङ्गिक  समानता पत्रकारिता पुरस्कार २०७९ रेजिना गौतमलाई र लीला अनमोललाई २०८० को पुरस्कार  प्रदान गरिएको थियो । बिर्तामोड १ निवासी छोरा विपिन (विशेश्वर) र बुहारी बिनिता बजगाईँ (होमकला) द्धारा आफ्ना मातापिता मनमाया र केदार बजगाईँको स्मृतिमा महासङ्घमा २ लाख ५१ हजारको अक्षयकोष स्थापना गरेका थिए । लैङ्गिक समानता हासिल गर्न समाजलाई प्रेरणा दिने, समतामूलक समाज निर्माणमा भूमिका खेल्दै पैरवीयुक्त, खोजमूलक र प्रभावशाली समाचार प्रकाशन तथा प्रसारण गर्ने एक जनालाई प्रत्येक वर्ष प्रदान गर्ने गरी उक्त पुरस्कारको स्थापना गरिएको हो ।

त्यसैगरी यसै बर्षबाट महासंघ झापाले स्थापना गरेको समावेशी सक्रिय पत्रकारिता पुरस्कार नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित पत्रकार गणेशमान मुखियालाई प्रदान गरिएको छ । पत्रकार महासंघ झापाले यसै बर्षदेखि सञ्चार क्षेत्रका विविध बिद्यालाई समेटेर समाज रूपान्तरणमा योगदान दिने पत्रकारहरूलाई जनही ११ हजार नगदसहित पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

विविध विद्या अन्तरगत अनलाइन पत्रकारिता पुरस्कार शब्दपत्र डटकमका सम्पादक उद्धव पुरीलाई प्रदान गरिएको छ । त्यस्तै छापा पत्रकारिता पुरस्कार मेची साप्ताहिकका सम्पादक झुलन रेग्मीलाई प्रदान गरियो । त्यस्तै टेलिभिजन पत्रकारिता पुरस्कार हिमशिखरका सुदीप अधिकारीलाई र रेडियो पत्रकारिता पुरस्कार रेडियो भिजनका पुष्प बराललाई प्रदान गरियो, काटुन पत्रकारितामा पत्रकार प्राज्ञ पवन राजवंशीलाई सम्मान गरिएको छ । सोही अवसरमा उदीयमान पत्रकारिता पुरस्कार आँगन एफएमका चन्द्र बस्नेत र प्रकाश पौडेललाई प्रदान गरियो । उक्त पुरस्कारको राशि जनही ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

त्यसैगरी अधिवेशनकै अवसरमा ११ जना अग्रज पत्रकारहरूलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो । सम्मानित हुने हरूमा नकुलकाजी, गोविन्दचन्द्र छेत्री, गञ्जबहादुर दाहाल, सिरोसान्दाई, लीला बराल, लेखनाथ पदरेशी, गोपाल गिरी, चिन्तामणि दाहाल, नेत्र पाठक, केशव आचार्य र लक्ष्मण ढकाल छन् ।

कार्यक्रममा मेची-महाकाली पहिलो साइकल यात्री पत्रकार मुक्ति पौडेललाई समेत सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सभामुख देवराज घिमिरे, प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा,  नेपाल पत्रकार महासङ्घकी केन्द्रीय उपाध्यक्ष वाला अधिकारी,  लगायतले सम्मान एवम् पुरस्कार वितरण गरेका थिए । पत्रकार महासङ्घका संस्थापक महासचिव चन्द्र भण्डारीले सम्मानित व्यक्तिहरूको नाम घोषणा गरेका थिए ।

महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई र सञ्चालन सचिव डिकेश लामाले गरेका थिए । तस्वीरहरू: बिनोद पाण्डे

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर