Aamsanchar

मोरङमा नवजात शिशुको हत्या गरेको आरोपमा आमा पक्राउ

Author Image
मङ्गलवार, वैशाख १८, २०८१

विराटनगर – मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ। मिक्लाजुङ गाउँपालिका–१ सातबोटेकी २६ वर्षीया अस्मिता राईले शिशु जन्माएर हत्या गरी फ्यालेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार अस्मिताले छोरा जन्माएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घरदेखि १ किलोमिटर उत्तरमा रहेको बाँसघारीमा छोरा जन्माएको र हत्या गरेर ढुंगाको चेपमा फ्यालेको बस्नेतले बताए। बाँसघरीबाट १० मिटरजति पश्चिममा रहेको ढुंगाको चेपबाट सोमबार साँझ कपडाले छोपेर राखेको अवस्थामा शिशुको शव बरामद भएको जानकारी उनले दिए।

शिशुको हत्या गरेर घर फर्किएकी अस्मिताको शरीरमा रगत देखेपछि शंका लागेर आफन्तले सोधपुछ गरेका थिए। सोधपुछ गर्ने क्रममा शिशुको हत्या गरेको खुलेपछि आफन्त र स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तत्कालै घटनास्थल पुगेको प्रहरीले शव बरामद गरेर अस्मितालाई पक्राउ गरेको थियो।

 

स्वास्थ्य अवस्था कमजोर रहेको पाइएपछि उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको प्रहरीले जनाएको छ। अस्मिताविरुद्ध परिवारका सदस्यले इलाका प्रहरी कार्यालय उर्लाबारीमा मंगलबार किटानी जाहेरी दिएका छन्। किटानी जाहेरीलाई आधार बनाएर उनीविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ।

उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोलीले घटनाको अनुसन्धान गर्ने छ। ‘शिशुको हत्यामा संलग्न महिला उपचाररत रहेका कारण घटनाका बारेमा थप बुझ्न र सोधपुछ गर्न पाइएको छैन। अस्पतालले डिस्चार्ज दिएपछि अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइने छ,’ डीएसपी बस्नेतले भने, ‘अनुसन्धानपछि घटनाका सम्बन्धमा थप प्रष्ट हुने छ। प्रारम्भिक सोधपुछबाट शिशुको हत्या गरेर शव फ्यालेको पत्ता लाग्यो।’

अस्मिताका पति (श्रीमान) भने वैदेशिक रोजगारीका क्रममा १ वर्षदेखि कतारमा रहेको बस्नेतले बताए। उनका अनुसार शिशुको शवलाई पोस्टमार्टमका लागि धरान लगिएको छ। पोस्टमार्टम रिपोर्टबाट घटनाका बारेमा धेरै कुरा प्रष्ट हुने जानकारी बस्नेतले दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर