![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/05/InShot_20240501_181342205.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
धादिङ – साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका-२ तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको छ।
‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को अनुसन्धान तथा प्रवर्द्धनको अन्वेषणका लागि पुगेको ट्रेकिङ एजेन्सिज् एशोसियशन अफ नेपाल ९टान० र गाउँपालिकाको टोलीको उपस्थितिमा आज तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको हो। तामाङ भाषामा ‘ह्यारा’को अर्थ भिरमौरी भन्ने बुझिन्छ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
गङ्गाजमुनाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले विगत लामो समयदेखि भीरमौरीको मह उत्पादन हुँदै आएको तेम्बायारा महभिरमा मह उत्पादनका लागि आवश्यक सामग्री गाउँपालिकाले व्यवस्थापन गरेर पर्यटन प्रवर्द्धनमा सहयोग गर्दैआएको बताए। ‘साहसिक पर्यटनको अत्यधिक सम्भावना भएको तेम्बाह्यारा महभिरमा भीरमौरीको महबाहेक क्यानोनिङकोसमेत सम्भावना छ, गाउँपालिकाले यसको सम्भाव्यता अध्ययन गरेर अगाडि बढ्छ,’ अधिकृत श्रेष्ठले भने।
गङ्गाजमुना-२ का वडाअध्यक्ष बलबहादुर तामाङले तेम्बाह्यारा महभिरमा रहेको भिरमौरीको महलाई आगामी दिनमा संरक्षण समिति बनाएर उत्पादन गरिने बताए। उक्त महभिरमा विगत दुई सय वर्षदेखि भिरमौरीको मह निकालिँदै आएको उनको भनाइ छ।
हाल ‘री’ गाउँका ६ युवाले दुई लाख रुपैयाँ लगानी गरेर डोरी खरिद गरी भिरमौरीको मह निकाल्दै आएका छन्। उत्पादन भएको मह एक हजार पाँच सयदेखि दुई हजार रुपैयाँसम्ममा बिक्रीवितरण गरिँदै आएको वडाअध्यक्ष तामाङले बताए। उक्त महभिर गङ्गाजमुना–२ र ३ को सिमाना ताप्राङ खोलामा पर्दछ।
गङ्गाजमुना–३ का वडाअध्यक्ष राजकुमार गुरुङले वडाभित्रका पर्यटकीय क्षेत्रको खोज गरी संरक्षणमा वडा लागेको बताए। आजदेखि सुरु भएको भिरमौरी मह निकाल्न एक हप्ता लाग्नेछ। भिरमौरीको मह निकाल्नका लागि री गाउँका चन्द्रबहादुर तामाङ, कुर्मु तामाङ, दुर्गा तामाङलगायत लाग्नुभएको थियो। उक्त महभिरमा कात्तिक र वैशाखमा भिरमौरीको मह उत्पादन गरिँदै आएको छ।
गङ्गाजमुनाका पर्यटन विकास संयोजक एवं वडा नम्बर ६ का वडाध्यक्ष रमेश ढकालले गङ्गाजमुनामा भएको साहसिक पर्यटनको विकासका लागि गाउँपालिकाले काम गर्ने बताए। संघीय राजधानी काठमाडौंमासमेत धादिङका अधिकांश व्यक्ति पर्यटन व्यवसाय गर्दै आएका छन्। गङ्गाजमुनाका बासिन्दाका मात्र ९५ ट्रेकिङ कम्पनी छन्। पर्यटन विकास संयोजक ढकालले गङ्गाजमुनाभित्रको पर्यटनको विकासका लागि काठमाडौंमा रहेका सबै व्यवसायीलाई समेटेर अगाडि बढ्ने बताए।