Aamsanchar

जमुनाह नाकामा निर्मित एकीकृत भन्सार जाँच चौकी औपचारिक रूपमा सञ्चालनमा

Author Image
सोमवार, वैशाख २४, २०८१

काठमाण्डौ – बाँकेको नेपालगञ्जमा रहेको जमुनाह नाकामा निर्मित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

गएको वर्ष जेठ १८ गते नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियोमार्फत जाँच चौकीको उद्घाटन गर्नुभएको भए पनि सञ्चालनमा आएको थिएन । आज उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुभारम्भ गर्नुभएको भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो ।

एकीकृत जाँच चौकी निर्माणका लागि नेपाल र भारतबीच १८ वर्षअघि नै सम्झौता भए पनि निर्माण कार्य २०७५ सालमा शुरु भएको थियो । नेपाल र भारत दुवैतर्फ निर्माण भएको एकीकृत जाँच चौकी भारतीय पक्षकै लगानीमा निर्माण भएको हो । जाँच चौकी निर्माणमा झन्डै दुई अर्ब ७५ करोड रुपैयाँ खर्च भएको छ ।

जाँच चौकी सञ्चालनमा आएकाले अब आयात तथा निर्यातकर्ताले कम समयमै सहज रूपमा वस्तु आयात–निर्यात गर्न सक्ने भन्सार अधिकृत विश्वकर्माले बताउनुभयो । अब ट्राफिक जाम नहुने, भन्सारमा हुने गरेको चोरी–पैठारीमा कमी आउने र राजस्व चुहावट पनि रोकिने सरकारको अपेक्षा रहेको छ ।

यसअघि सडकमै गाडी रोकेर भन्सार जाँच पास गर्नुपर्ने बाध्यता थियो । जाँच चौकी स्थलमा भन्सार कार्यालय, पशु र प्लान्ट क्वरेन्टीन, गोदाम, खाद्य प्रविधि तथा गुण नियन्त्रण, सुरक्षा ब्यारेक, बैंक काउन्टरलगायत कार्यालय रहने गरी संरचना निर्माण गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर