Aamsanchar

मतदानबाट विद्यालयमा क्याप्टेन र भाइस क्याप्टेन चयन, संसदीय निर्वाचनको झल्को

Author Image
आइतवार, वैशाख ३०, २०८१

म्याग्दी-जिल्लाको एक विद्यालयमा मतदानबाट विद्यार्थीहरुले क्याप्टेन र भाइस क्याप्टेन चयन गरिको छ । क्याप्टेन चयन गर्दा अपनाइएको प्रक्रियाले संसदीय निर्वाचनको झल्को दिएको छ ।

रघुगंगा गाउँपालिका ३ मौवाफाँटस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थीहरुकाबिच क्याप्टेन चयन गर्न सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट चयन गरिएको हो ।विद्यालयमा विद्यार्थीहरुको नेतृत्वका लागि दावि गरेका प्रतिस्पर्धीहरुबिच सहमति नभएपछि मतदान प्रक्रियामार्फत् चयन गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयमा भएको मतदानबाट क्याप्टेनमा बल चुनाव चिन्हका गोपी दर्जीले ७८ मत र भाइस क्याप्टेनमा कलम चुनाव चिन्हका बिजन भण्डारीले ७५ मत प्राप्त गरेर विजयी हुनुभएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक समेत रहनुभएका निर्वाचन अधिकृत अर्जुन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार क्याप्टेनमा कलम चुनाव चिन्हका अजिता भण्डारीले ३४ र भाइस क्याप्टेनमा बल चुनाव चिन्हका अप्सन शर्माले ४१ मत प्राप्त गर्नुभएको थियो । क्याप्टेनमा ८ र भाइस क्याप्टेनतर्प ५ मत बदर भएको थियो ।

मतदानमा विद्यालयका कक्षा १ देखि १० सम्मका एक सय २६ जना विद्यार्थीहरुमध्ये १२१ जनाले भाग लिएका थिए । विद्यालयले संसदीय चुनावको अभ्यास सहित एक साताको निर्वाचन प्रक्रिया हुँदै मतदानबाट विद्यार्थीहरुबाट क्याप्टेन र भाइस क्याप्टेन चयन गरेको जनाएको छ ।

एक साताअघि क्याप्टेन र भाइस क्याप्टेन पदमा उम्मेदवारी खुला गरिएको थियो । निर्धारित समय सीमाभित्र क्याप्टेनमा ५ जना र भाइस क्याप्टेनमा ६ जनाले मनोनयन दर्ता गरेका थिए । मनोनयन दर्तापछि उम्मेदवारी फिर्ता गर्ने दुई दिनको समयसिमा भित्र क्याप्टेनतर्फका ३ जना र भाइस क्याप्टेन तर्फकाट ४ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका थिए ।

मतदानमार्फत् क्याप्टेन र भाइस क्याप्टेन चुन्ने प्रक्रियामा विद्यार्थीहरुलाई नमुना मतपत्र बनाएर मतदान गर्ने तरिका सिकाईएको थियो । विद्यालयका कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीहरुलाई मतदान गर्न पाउने व्यवस्था सहित मतदाता नामावली प्रकाशन, प्रतिस्पर्धीहरुलाई चुनाब चिन्ह प्रदान गरेर आफ्नो प्रतिबद्धता राखेर मत माग्ने समय समेत दिईएको थियो । प्रतिस्पर्धी विद्यार्थीहरुले आफ्नो योजना सहित विद्यालयमा रहेका विद्यार्थीहरुलाई मत समेत मागेका थिए ।

विहिवार दिउँसो २ बजदेखि मौन अवधि लागु गरेर प्रचारप्रसारमा रोक लगाइएको थियो । शुक्रवार विहान १० बजेदेखि विद्यालयमा क्याप्टेन र भाइस क्याप्टेनको लागि दुई वटा मतदान केन्द्र निर्वाधारण गरेर मतदान गराइएको थियो ।

निर्वाचनलाई सम्पन्न गराउन शिक्षकहरु सकुन्तला सुवेदीलाई निर्वाचन आयोगको प्रमुख, मिनबहादुर खत्रीलाई निर्वाचन आयुक्त, अर्जुन पौडेललाई निर्वाचत अधिकृत, सजनी मल्ललाई सहायक निर्वाचत अधिकृत, सुरेश थापा र दामोदर रिजाललाई मतदान अधिकृतको जिम्मेवारी तोकिएको थियो ।

विद्यार्थीहरुलाई दुई छुट्टाछुट्टै कलरको मतपत्रमा क्याप्टेन र भाइस क्याटेन पदको चुनाब चिन्हमा मत संकेत गरेर मतदान गर्न लगाइएको थियो । मतदानलाई सम्पन्न गर्न विद्यार्थीहरुलाई नै सुरक्षाकर्मीको समेत भूमिकामा परिचालन गरिएको थियो भने विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका प्रतिनिधिहरुले निर्वाचन परिवेक्षकको भूमिका निर्वाह गर्नुभएको विद्यालयका शिक्षक उर्मिला रेग्मीले बताउनुभयो ।

नवविर्नाचित क्याप्टेन दर्जी र भाइस क्याप्टेन भण्डारीले सबै कक्षाकोठामा फोहोर संकलन गर्ने कुचो, डस्बीनको व्यवस्थापन, शुद्ध खानेपानीको व्यवस्थापन र अतिरिक्त क्रियाकलापहरुलाई थप व्यवस्थित गर्न विद्यालय प्रशासन र व्यवस्थापन समितिसँग आवश्यक पहल र समन्वय गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

विद्यार्थीका समस्याबारे ध्यानकर्षण गराउन, विद्यालयको अतिरिक्त क्रियाकलापहरुमा सहजीकरण गर्न र विद्यार्थीहरुमा नेतृत्व क्षमताको विकास गर्न विद्यार्थीहरुमध्येबाटै क्याप्टेन र भाइस क्याप्टेन चयन गर्दै आएको विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)