![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/05/InShot_20240519_143206369.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
झापा – जल तथा मौसम विज्ञान विभागले झापाका दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको पुलमा जडान गरिएका ती उपकरणले बाढी आउनु पहिले जानकारी दिने विभागका प्रवक्ता सुनिल पोखरेलले बताए ।
यसअघि झापाको कनकाई नदीमा मात्र यस्तो बाढी मापन तथा सूचना प्रणाली सञ्चालनमा थियो । नदी जोखिम न्यूनीकरण आयोजनामार्फत पूर्व–पश्चिम राजमार्गमा पर्ने नदीका पुलमाथि बाढी मापन उपकरण जडान धमाधम भइरहेको उनले बताए । मोरङ जिल्लाको बक्राहा नदीमा पनि यस्तै प्रणाली जडान गरिएको छ ।“उपकरण जडान गर्ने काम भइसक्यो,” उनले भने, “प्रणालीमार्फत आउने जानकारीलाई विभागको वेबसाइटमा राख्ने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्ने काम गर्नेछौँ ।” झापामा कनकाई, बिरिङ, निन्दा, मेची, रतुवा र मावा नदीको बाढीले बर्सेनी ठूलो क्षति पुर्याउँदै आएको छ । कनकाईमा जडान गरिएको उपकरणले दिने जानकारीका आधारमा नदी आसपासका बासिन्दालाई सतर्कताका लागि मोबाइल एसएमएस सन्देश पठाउने गरिएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
“अब बिरिङ र निन्दा नदीको आसपास तटीय क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दालाई नदीको जलसतह बढेको जानकारी एसएमएसबाट बेलैमा दिने व्यवस्था गर्दैछौंँ,” उनले भने, “यसो भएमा बाढीबाट हुने जनधनको क्षति न्यूनीकरणमा ठूलो सघाउ पुग्छ । जोखिममा रहेका समुदाय सुरक्षित हुन्छन् ।” विभागले राजमार्गका मावा, रतुवा नदीमा समेत सो प्रणाली जडान गरिरहेको जनाएको छ ।
प्रणालीमा जडित स्वचालित उपकरणले वर्षा सुरु भएपछि १० मिनेटको अन्तरमा नदीमा बगिरहेको जलस्तरको बारेमा काठमाडौँ र झापास्थित सूचना केन्द्रमा जानकारी पठाउने गर्छ । त्यही जानकारीको विश्लेषण गरेर बाढी आउने सम्भावना बारे नदी तटीय क्षेत्रमा बसोबास गरेका सर्वसाधारणलाई सतर्कताको सन्देश प्रेषण गरिने उनले जानकारी दिए ।
बिरिङका लागि बुधबारेमा र निन्दाका लागि बाहुनडाँगीमा वर्षामापन उपकरण राखिएको छ । ती उपकरणको सहायताले नदीको मुहानमा कति वर्षा भइरहेको छ भन्ने जानकारी संकलन हुनेछ । नदीको पानीको वहाब र वर्षाको मात्रा जिल्ला प्रशासन कार्यालय झापामा राखिएको सूचना केन्द्रबाट हेर्न सकिने पोखरेलले बताए ।
नेपाल टेलिकमको सिम प्रयोग गर्ने नदी तटीय क्षेत्रका बासिन्दालाईे मोबाइलमा सन्देश पठाइने आयोजनाले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बाढीमापन तथा वर्षामापन प्रणालीले बाढीका कारण उत्पन्न हुने विपत् व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्याउने बताए । उनले विगत लामो समयदेखि कनकाई नदीमा यो प्रणालीमार्फत बाढीको क्षति न्यूनीकरण भइरहेको जानकारी दिए ।