Aamsanchar

जातीय विभेद अन्त्यका लागि ओखलढुङ्गामा अन्तरक्रिया

Author Image
बिहिवार, जेठ २४, २०८१

ओखलढुङ्गा-ओखलढुङ्गामा जातीय विभेद र छुवाछुत अन्त्यका लागि अन्तरक्रिया गरिएको छ । १८ औँ जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा नेपाल दलित सङ्घ जिल्ला कार्यसमिति ओखलढुङ्गाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा सरोकारवालाले सामाजिक विकृतिको रूपमा रहेको छुवाछुत अन्त्यका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी डा। नारायण प्रसाद ढकालले कानुनले छुवाछुत र भेदभावको अन्त्य गरिसकेको भएपनि व्यवहारबाट अझै अन्त्य नहुनु दुःखद रहेको बताउनुभयो ।

विगतमा भन्दा पछिल्ला दिनमा समाज तीव्र रूपले परिवर्तन भइरहेकोले पुस्ता अनुसार विकृतिहरू हट्दै जाने भए पनि मान्छे, मान्छेबिच हुने विभेदको अन्त्यका लागि सबै जुट्नुपर्नेमा प्रमुख जिल्ला अधिकारी ढकालको भनाइ छ । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाका सभापति तथा सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले दलित समुदायको उत्थानका लागि पार्टीले जागरण अभियान र नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय ओखलढुङ्गाका जिल्ला न्यायाधिवक्ता विश्वास सुनुवारले छुवाछुत सामाजिक अपराध भएकाले कसैले छुवाछुत तथा विभेद गर्न नहुने बताउँदै त्यस्तो गरिएको पाइए त्यो दण्डनीय कार्य रहेको बताउनुभयो । कानुन अनुसार जातीय छुवाछुत गर्नेलाई कैद र जरिवानाको व्यवस्था गरेकोले आफू माथि जातका आधारमा भेदभाव वा अन्याय भएमा उजुरी गर्न न्यायाधिवक्ता सुनुवारले सुझाव दिनुभएको छ ।

विभेद अन्त्यका लागि कानुन कार्यान्वयन नै पहिलो कदम हुने दलित सङ्घका जिल्ला अध्यक्ष होमबहादुर विश्वकर्माले बताउनुभयो । छुवाछुत अन्त्यका लागि सम्पूर्ण दलित समुदाय एकजुट हुनुपर्ने विश्वकर्माको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर