Aamsanchar

सञ्चालनमा आयाे हरियाली सामुदायिक वनकाे पाैडीपाेखरी

Author Image
शनिवार, जेठ २६, २०८१

उर्लाबारी- हरियाली सामुदायिक वन उपभोक्ता समूहले मोरङको पथरीशनिश्चरे –२ मा पर्यापर्यटन कार्यक्रम अन्तर्गत व्यवस्थित पौडीपोखरी सञ्चालनमा ल्याएको छ ।

शुक्रबार पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्बापोले पौडी पोखरीको उद्घाटन गर्नुभयो । नगर प्रमुख तुम्बापोले सामुदायिक वनको नियमित आम्दानी घट्दै गइरहेका बेला वन संरक्षणका लागि पब्लिक लिमिटेड दर्ता गरेर रोजगार सिर्जना गर्नेखालका काममा नगरले सहयोग गर्ने बताउनुभयो ।

सामुदायिक वनले हरियाली सामुदायिक वन पब्लिक लिमिटेड दर्ता गरेर सर्वसाधारणलाई लगानीका लागि आह्वान गरेको थियो । हालसम्म ८६३ जना उपभोक्ताले लगानी गरिसकेका छन् । वनका उपभोक्ताले न्यूनतम १० हजारदेखि अधिकतम एक लाख रुपियाँसम्म लगानी गरेको कम्पनीका प्रबन्ध निर्देशक रोहित बास्तोलाले बताउनुभयो ।

बास्तोलाका अनुसार सामुदायिक वनले ३५ प्रतिशत लगानी गरेको छ । हालसम्म ५ करोड रुपियाँ खर्च भइसकेको हरियाली वन पब्लिक लिमिटेडका पदाधिकारीको भनाइ छ ।

सामुदायिक वनको ३ हेक्टर जग्गामा पर्यापर्यटनको विकासका लागि दर्ता भएको कम्पनीले सभा हल, पौडीपोखरी र चमेना गृह निर्माण गरिसकेको छ । तीन वर्षअघि ३८ करोड रुपियाँको डिपीआर बनाएर काम थालेको सामुदायिक वनले अबको ५ वर्ष भित्र फनपार्क, बाल उद्यान, प्रेमचौतारी र विज्ञान प्रदर्शनी केन्द्र (साइन्स सिटी) निर्माण गर्ने भएको छ ।

प्रबन्ध निर्देशक बास्तोलाका अनुसार हाल ५ जनाले रोजगार पाइरहेको कम्पनीमा आयोजना सम्पन्न भएपछि २ सय जनाले रोजगार पाउने लक्ष्य राखिएको छ । पछिल्लो समय पूर्वका सामुदायिक वनहरूले रोजगार सिर्जना हुने पर्यटकीय केन्द्र निर्माणमा लगानी गरिरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर