पाँचथर र ताप्लेजुङ जिल्लाको सिमानामा अवस्थित तिम्बु पोखरी क्षेत्र । धार्मिक तथा पर्यटकीय दृष्टिकोष महत्त्वपूर्ण यस स्थल पुग्न पाँचथर जिल्ला सदरमुकाम फिदिमबाट करिब १८ कोस टाढा पर्दछ । तिम्बु पोखरी समुन्द्री सतह देखि करिब ४,२३८ मिटरको उचाइमा छ । यो पोखरीको लम्बाइ करिब ४०० मिटर र चौडाइ २०० मिटर भएपनि गहिराइ भने पत्ता लागेको छैन । पाँचथर र ताप्लेजुङ जिल्लाको सिमानामा पर्ने भएको हुँदा दुबै तर्फबाट आफ्नो सम्पदाको रूपमा तिम्बु पोखरीलाई लिएको पाइन्छ ।

वर्षभरिमा आठ महिना सम्म हिँउले ढाक्ने भएपनि जेष्ठ देखि भाद्र महिना सम्म मात्र हिउँ पग्लने गर्छ । यस पोखरीका आसपासमा शिव पोखरी, सूर्य कुण्ड, दूध कुण्ड, हाँस पोखरी, मयुरपोखरी, नीरपोखरी लगायतका अठारवटा पोखरी छन । यसै क्षेत्रमा कुम्भकर्ण हिमालको वरिपरि १७८ कुण्डहरू माला जस्तै आकारमा रहेकाले यस स्थानलाई पूर्वको गोसाइँकुण्ड भन्ने गरिएको पाइन्छ ।




तिम्बु पोखरी रहेको स्थानबाट खुल्ला मौसम भएका बेला कञ्चनजङ्घा र कुम्भकर्ण लगायत विभिन्न हिमश्रृखंलाहरू मनोहक दृष्य, तराइका विशाल फाँटहरू, अग्ला होचा पहाड र भारतको सिक्किम, दार्जिलिङ सहरहरूको पनि दृश्यावलोकन समेत गर्न सकिन्छ । पोखरीको छेउछाउमा फुल्ने क्यान्जो नामक फूलजातको जडिबुटीले त्यहाँको वातावरण सुगन्धित र मनमोहक बनाउने गरेको छ ।
फोटो : अमिर राई/आमसंचार



