Aamsanchar

एसइई उत्तीर्ण भएको खुसियालीमा र्‍याली

Author Image
शनिवार, असार १५, २०८१

पाल्पा – शुक्रबार तानसेन बजारमा उत्सवमय बन्यो। अबीरले पोतिएका थिए। फूलमालाले सजिएका। अधिकांश एउटै पोसाकमा सजिएका। पञ्चेबाजा घन्किएका थिए। ड्रमसेट बजेका थिए। कोही नाच्दै थिए। कोही गीत गाइरहेका थिए। सहभागी सबै उत्साहित र खुसी थिए। झट्ट हेर्दा बेहुला लिएर जन्ती हिंडेका जस्तै देखिन्थ्यो।

यी दृष्य थिए विद्यार्थीले उत्कृष्ट नम्बर ल्याएर एसइई उत्तीर्ण भएको खुसियालीमा निकालिएको र्‍याली। जिल्लाको सदरमुकाम तानसेनस्थित जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी उत्सव ढुंगानाले २०८० को एसइई परीक्षामा ४ जिपिए प्राप्त गरेका छन्। त्यसैको खुसियालीमा विद्यालयले बाजागाजासहित र्‍याली निकालेको हो। र्‍यालीले तानसेन बजार परिक्रमा गरेको थियो। विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालयका शुभचिन्तकको उपस्थिति रहेको थियो।

४ जिपिए ल्याएर उत्तीर्ण भएका उत्सव ढुङ्गानाले भने ‘सबै विषयलाई उत्तिकै महत्व दिएर अध्ययन गर्दा सफल भएको हो।’ कसरी पढ्ने भन्नेबारे शिक्षकले सिकाउनुभयो। शिक्षकले दिएको सुझावअनुसार अध्ययन गर्दा ४ जिपिए ल्याउन सफल भएको उनले बताए। कुनै पनि विषयलाई सजिलो छ, भनेर बेवास्ता गरिनँ। अप्ठ्यारो लाग्ने विषयलाई जत्तिकै समय दिएर सजिला विषय पनि पढिरहेँ। पटकपटक दोहोर्‍याएर पढ्ने गर्थें। सजिलो भनेर छोड्ने गर्थिनँ`उनले भने, ´पढाइलाई आफ्नो जीवनको महत्वपूर्ण काम ठानेर पढ्दा सफलता हात परेको छ।`

बालबच्चालाई घरमा पढ्ने वातावरणले प्रभाव पार्ने उत्सवका बुवा गोपाल ढुङ्गानाले बताए। ‘उत्सवमा फरक केही छैन। अन्य विद्यार्थीमा जस्तै क्षमता भएको व्यक्ति हो। अनुभव एउटै छ।’ उनले भने ‘सफलता प्राप्त गर्न भने बालबच्चामा अनुशासन नै चाहिन्छ।’

 

विद्यार्थीलाई अनुशासनमा राख्न विद्यालयले मात्रै सक्दैन। अभिभावकको अझै बढी भूमिका रहने उनले बताए। घरमा अनुशासित नभएको विद्यार्थीलाई विद्यालयमा पनि अनुशासन कायम गराउन कठिन हुन्छ। घर र समाजको वातावरणले विद्यार्थीको जीवनमा बढी प्रभाव पाने उनले बताए। लगनशीलता र अनुशासले बालबच्चालाई पढाइमा उत्कृष्ट बनाउन सकिने अनुभव उनले सुनाए। सबै विषयको सन्तुलन मिलाएर पढाउन सके विद्यार्थी पढाइमा सफल हुन्छन्। सजिलो पढ्न पर्दैन्। अप्ठ्यारा लाग्ने विषयलाई जतिसक्दो धेरै बढ्नुपर्छ भन्ने गलत बुझाईले बालबच्चाले उत्कृष्ट स्थान हासिन गर्न नसकेको गोपालको बझाइ छ।

जिपिए ४ प्राप्त गर्नलाई सबै विषयको नम्बर सन्तुलन हुनुपर्छ। घर र विद्यालयले बालबच्चालाई पढ्नका लागि कत्तिको प्रेरित गर्न सक्यौँ भन्ने कुरामा शिक्षक र अभिभावक सचेत हुनुपर्ने उनले सुझाए। सानै कक्षाबाट मेहनत गर्ने बानीको विकास हुनुपर्छ। सफल र उत्कृष्ट बनाउनका लागि बालबच्चालाई बुवा आमाले समय दिनुपर्ने उनले बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी पोखरेलले विद्यार्थी उत्सवको सफलताले विद्यालयको पढाइलाई अझै गुणस्तरीय बनाउन प्रेरित गरेको बताए। यो नै जीवनको अन्तिम परिणाम होइन। आगामी दिनमा सफल बन्नका लागि अनुशासन र लगनशीलताई निरन्तरता दिनुपर्छ। हरेक बुवाआमाको चाहना भनेको आफ्नो छोराछोरी प्रथम भएको हेर्ने चाहना हुन्छ। यद्यपि सबै प्रथम बन्न मिल्दैन। तर उत्कृष्ट नम्बर ल्याउन भने सक्छन्। त्यसैको उदाहरण अहिले यस विद्यालयमा उत्तीर्ण भएका विद्यार्थीको नतिजाले स्पष्ट पारेको पोखरेलले दाबी गरे। कक्षा ११ र १२ का विद्यार्थीलाई उत्कृष्ट नम्बर ल्याउने गरी पढाउने वातावरण बनाइएको उनले बताए।

विद्यालयका प्रधानाध्यापक हरिप्रसाद घिमिरेले सामान्य शहर र गाउँमा रहेका सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने बताए। पढाइका लागि तानसेनबाट अन्यत्र बसाइँसराई जानुपर्ने अवस्था नरहेको घिमिरेले बताए।

जनता माध्यमिक विद्यालयबाट २०८० को एसइई परीक्षामा एक जनाले ४ जिपिए प्राप्त गरेका छन्। १२ जना विद्यार्थीले ए प्लस, १७ जनाले ए, ३६ जनाले बि प्लस गरी ६५ जना विद्यार्थी उर्तीण भएका शिक्षक रामप्रसाद ढकालले जानकारी दिए।

खुला कक्षातर्फका २ जना विद्यार्थी उर्तीण भएका छन्। परीक्षामा १२७ जना विद्यार्थी सहभागी भएका थिए। २७ जना फेल ९एनजी० भएका छन्। उनीहरूले आगामी साउनमा परीक्षा दिन पाउनेछन्।

यसैबीच पाल्पाकै रामपुरस्थित दरैठाटी माध्यमिक विद्यायकी पूर्णिमा कुँवरले पनि चार जिपिए प्राप्त गरेकी छन्। शुक्रबार विद्यालयले एक कार्यक्रमकाबीच कुँवरसहित उत्कृष्ट उर्तीण विद्यार्थीलाई बधाई तथा सम्मान गरेको छ।

यता विद्यार्थीले उत्कृष्ट नम्बर ल्याएको खुसियालीमा तानसेनमा रहेको देववाणी तथा साधारण माध्यमिक विद्यालयले पनि बाजागाजासहित र्‍याली निकालेको छ। विद्यार्थी, शिक्षक, अभिभावक सहभागी र्‍यालीले तानसेन बजार परिक्रमा गरेको थियो।

यस विद्यालयबाट ८ जनाले ए प्लस, १० जनाले ए, १३ जनाले बि प्लस प्राप्त गरेका छन्। ७१ जना विद्यार्थी २०८० को एसइई परीक्षामा सहभागी भएका थिए। ४४ जना उतीर्ण भएका छन्।

पाल्पामा एक हजार ११७ जना विद्यार्थी उत्तीर्ण

२०८० को यसइई परीक्षामा पाल्पाबाट चार हजार १८२ जना विद्यार्थी सहभागी भएका थिए। सहभागीमध्य एक हजार ११७ जना विद्यार्थी उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख महेन्द्र सुवेदीले बताए।

१०५ जना विद्यार्थीले ३.६ देखि चार जिपिए प्राप्त गरेका छन्। २८२ जना विद्यार्थीले ३.२ जिपिएदेखि ३.६ जिपिए, ४३७ जनाले २.८ जिपिएदेखि ३२ जिपिए, २८१ जना विद्यार्थीले २.४ देखि २।८ जिपिए प्राप्त गरेका उनले बताए। यस्तै १२ जनाले २ देखि २.४ जिपिए ल्याएका। दुई हजार ६१० जना ननग्रेड भएका इकाइ प्रमुख सुवेदीले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर