Aamsanchar

फेरि पक्राउ परे प्रहरी हत्यामा जेल बसेर छुटेका गुण्डा नाइके सुरेन्द्र

Author Image
बुधवार, असार १९, २०८१

काठमाडौं –उपत्यमा हुने आपराधिक घटना र गुण्डागर्दीको शृङ्खलामा एक समय धादिङका दिनेश अधिकारी उर्फ ‘चरी’ र नुवाकोटका कुमार श्रेष्ठ उर्फ ‘घैँटे’ को नाम नजोडिएको अपराध हुँदैन थियो ।

चरी र घैँटेले २०६३ देखि करिब २०७० सालको बीचको अवधिमा गुण्डागर्दीको समूह नै निर्माण गरेर सयौं अपराधका घटना घटाए । निर्माण व्यवसायीदेखि रात्रिकालीन व्यवसायीबाट त उनीहरुले हप्तैपिच्छे रकम असुल गर्थे ।
उनीहरुको अपराधको शृङ्खलाले आजित भएको प्रहरीले २०७१ साउनमा चरीको इन्काउन्टर गरेर मार्‍यो ।

तत्कालीन अपराध महाशाखाको टोलीले चरीलाई भिमढुंगामा गोली हानेको थियो । त्यसको एक वर्षपछि २०७२ को भदौमा अर्का गुण्डा नाइके घैँटेकोसमेत प्रहरीकै गोलीले ज्यान गयो । उनलाई समेत महाशाखाकै टोलीले इन्काउन्टर गरेर मारेको थियो ।

त्यहीसमय ललितपुर क्षेत्रलाई मूख्य आधार क्षेत्र बनाएर आपराधिक गतिविधि सञ्चालन गरेका अर्का खुंखार गुण्डा नाइके सुरेन्द्र महर्जन भने जेलमा थिए ।

ललितपुर जावलाखेलकै स्थानीय महर्जन चरी र घैँटे उदाउनु पहिलादेखि नै आपराधिक कर्ममा सक्रिय थिए । निर्माण व्यवसायीदेखि अन्य व्यवसायीसँग उनी हप्ता असुल गर्थे । उनको सम्बन्ध गुण्डागर्दी पृष्ठभूमिका हालका नेपाली कांग्रेसका प्रदेश सांसद मीनकृष्ण महर्जनसँग थियो ।

२०६१ मा ड्युटीमै खटिएका प्रहरीमाथि नै खुकुरी प्रहार गरेर हत्या गर्ने महर्जन १० वर्ष जेल बसे । उनी जेलबाट छुट्दा भने गुण्डागर्दीमाथि प्रहरी हस्तक्षेप तीव्र पारिएको थियो । त्यही माहोल बुझेर गुमनाम हुन खोजेका महर्जन पछिल्लो समय भने फेरि गुण्डागर्दीकै कर्ममा फर्किएका छन् ।

ललितपुरको चुनिखेलमा भएको खुकुरी प्रहार घटनामा उनको संलग्नता देखिएको हो । असार ७ मा रेष्टुरेन्ट व्यवसायी मनोज बानियाँमाथि खुँडा प्रहार भएको थियो ।

चुनिखेलमा निर्माणाधीन बानियाँको रिसोर्टमै ज्यान मार्ने उद्देश्यले खुँडा प्रहार भएको थियो । खुँडा प्रहारबाट घाइते मनोजको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ हात छिनालिनबाट थोरैमात्रै जोगिएको छ भने दायाँ खुट्टा र तिघ्रामासमेत गहिरो घाउ छ ।

प्रहरीको अनुसन्धानका क्रममा घटनामा भैँसेपाटीस्थित गोकुल आवासका राजेश केसीको मूख्य योजना रहेको खुलेको छ ।

केसीको सहयोगीका रुपमा सुरेन्द्र महर्जनसमेत जोडिएको फेला परेको हो । हाल केसीसहित सुरेन्द्र महर्जन, लालबहादुर तामाङ ललितपुर प्रहरीको थुनामा छन् ।

घटनाको एक हप्तापछि केसी आफैँ प्रहरी सम्पर्कमा आएका हुन् भने मर्हजनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रराज मल्ल नेतृत्वको विशेष टोलीले पक्राउ गरेको हो ।

प्रहरीको अनुसन्धानका क्रममा बानियाँमाथि खुँडा प्रहार गर्नेहरुमा दिपक बान्तवा र दर्शन लिम्बु मूख्य रहेको देखिएको छ । त्यस्तै घटनामा संलग्न झम्सिखेलका स्नोप भण्डारीकोसमेत संलग्नता खुलेको छ ।

जग्गासम्बन्धी कारोबार गर्दै आएका राजेश र बानियाँबीच जग्गाकै विषयमा केही दिनअघि समेत हानाहान भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

राजेशले बान्तवासहितका समूहलाई सुपारी दिएर खुँडा हान्न प्रयोग गरेको खुलेको छ । उनीहरु फरार छन् । ललितपुर प्रहरीका एसपी नरेशराज सुवेदीले केही पक्राउ परेको र केहीको खोजी कार्य जारी रहेको बताए ।

२०६१ मा यसरी गरिएको थियो प्रहरीको हत्या
प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी जवान विष्णु राना मगर र समृद्ध गुरुङबीच चिनजान थियो । चिनजानका आधारमा उनीहरुबीच आर्थिक लेनदेनसमेत हुन्थ्यो । २०६१ वैशाख २९ मा आर्थिक विषयमा नै कुरा गर्न समृद्ध गरुङ विष्णुलाई भेट्न कालिमाटी पुगे । त्यो बेला समृद्धले सुरेन्द्र महर्जनलाई समेत साथमै बोकेर हिँडे । महर्जन र गुरुङ दुवै जावलाखेलका हुन् ।

विष्णु ड्युटीमै थिए । उनीहरुले बा १३ प ३९५७ नम्बरको यामाहा कम्पनीको एफजेड मोटरसाइल प्रयोग गरेर कालिमाटी पुगेका थिए । समृद्ध र प्रहरी जवान बिष्णुबीच आर्थिक लेनदेनकै विषयमा विवाद भयो । त्यही विवादले उग्ररुप लिएपछि प्रहरी जवान विष्णुले नै बोकेको खुकुरी खोसेर सुरेन्द्र महर्जनले अन्धाधुन्दा प्रहार गरे । बिष्णुको बायाँ कोखा, कुहिनो र गोडामा अन्धाधुन्दा खुकुरी प्रहार गरिएको थियो ।

खुकुरी प्रहारलगत्तै सुरेन्द्र महर्जन र समृद्ध गुरुङ घटनास्थलबाट मोटरसाइकलमै भाग्न खोजे । तर, त्यो बेला स्थानीयले उनीहरुको मोटरसाइकल नै ढालेर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

खुकुरी प्रहारबाट घाइते भएका विष्णुको भने घटनास्थलमै ज्यान गयो । सोही कसुरमा जिल्ला अदालतका तत्कालीन न्यायाधीश भरतप्रसाद अधिकारीको इजलासले सुरेन्द्रलाई सर्वस्वसहित जन्मकैद र गुरुङलाई जन्मकैदको सजाय तोकेको थियो ।

जिल्लाको फैसलालाई उच्च अदालत पाटनले भने २०६३ असारमा हेरफेर गर्दै समृद्ध गुरुङलाई पाँचवर्ष र सुरेन्द्रलाई १० वर्ष सजायको फैसला गरेको थियो ।

तर, सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश कल्याण श्रेष्ठ र अनुपराज शर्माको संयुक्त इजलासले भने २०६५ असोजमा उच्च अदालतको फैसला उल्ट्याउँदै जिल्ला अदालतको फैसला नै सदर गर्ने फैसला गरेको थियो ।

उनै सुरेन्द्र पुनः खुकुरी प्रहारकै घटनामा संलग्न देखिएपछि पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर