Aamsanchar

मध्यविन्दुमा व्यावसायिक स्याउ खेती शुरु

Author Image
सोमवार, असार २४, २०८१

नवलपरासी – मध्यविन्दु नगरपालिका वडा नम्बर ३ ब्रह्मस्थानमा व्यावसायिक स्याउ खेती शुरु भएको छ । एग्रिकल्चर एण्ड फरेस्ट कञ्जरभेसन रिसर्च सेन्टर प्रालि (एएफसीआरसी)ले तराईमा स्याउ खेती शुरु गरेको हो । ४० डिग्री सेल्सियससम्म तापक्रम हुने पाँच बिघा क्षेत्रफलमा स्याउ रोपिएको छ । रोपिएको स्याउ दुई वर्षमै फल्न थालेको छ ।

प्रा।लि।का व्यवस्थापक ईश्वर भट्टराईले भारतको कास्मिरबाट ´अन्ना`, ´डोरसेट` र ´एचआरएम–९९` प्रजातिको स्याउको बिरुवा ल्याएर खेती गरिएको जानकारी दिनुभयो । यी प्रजातिका स्याउ न्यूनतम ६ देखि अधिकतम ४५ डिग्री सेल्सियससम्मको तापक्रममा फल्ने उहाँले बताउनुभयो । एएफसीआरसीले झन्डै तीन हजार पाँच सय स्याउको बिरुवा रोपेको छ ।

एउटा बोटमा ३० वटासम्म स्याउका दाना फलेका छन् । गर्मी धेरै भएकाले केही स्याउका दाना फुटेको उहाँले बताउनुभयो । स्याउको फल पहेँलो रङ र स्वाद फुजी स्याउको जस्तै हुने व्यवस्थापक भट्टराईले बताउनुभयो ।

एएफसीआरसीले ४० बिघा क्षेत्रफलमा स्याउसँगै अम्बा, सुनकागती, शीतलचिनी, चेरी, भूइँकटहर, केरा, उन्नत जातको ममफलीलगायतका फलफूल लगाएको छ । फलफूल खेतीका लागि थोपा सिँचाइ प्रयोग गरिएको एएफसीआरसीका व्यवस्थापक भट्टराईको भनाइ छ ।

एएफसीआरसीले फलफूल खेतीसँगै ´टिस्य` कल्चरु प्रविधिबाट उत्पादन गरेर केरा तथा बाँसको बिरुवा देशभरी बिक्री वितरण गर्दै आइरहेको छ । गुणस्तरीय वनस्पतिको कोष, तन्तु वा कुनै एक भागलाई निकालेर नियन्त्रित प्रयोगशाला वा कीटाणुरहित वातावरणमा ठूलो सङ्ख्यामा बिरुवा उमार्ने आधुनिक प्रविधिलाई टिस्यु कल्चर प्रविधि भनिन्छ ।

छोटो समयमा एउटा राम्रो बिरुवाबाट अरू हजारौँ बिरुवा उत्पादन गर्न र राम्रो उत्पादन दिन यो प्रविधि अपनाउने गरिन्छ । टिस्यू कल्चर ल्याब स्थापना गर्ने बेला सरकारले अनुदान सहयोग गरेको थियो । उत्पादन गरिएका जिनाइन प्रजातिका केराका बेर्ना तथा बाँसका बिरुवा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले देशैभर लैजाने गरेको प्रा।लि।का व्यवस्थापक ईश्वर भट्टराईले बताउनुभयो ।

केराको बिरुवा प्रतिगोटा ३५ देखि ६० रुपैयाँसम्म र बाँसको बिरुवा प्रतिगोटा एक सय ३० रुपैयाँमा बिक्री गरिन्छ । टिस्यू कल्चर प्रविधिबाट उत्पादन गरिएका ‘बालकोवा’ प्रजातिको बाँस पहाडी क्षेत्रमा भूक्षय नियन्त्रण एवम् तराई क्षेत्रमा नदी कटान रोकथामका लागि लैजाने गरेको एएफसीआरसीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर