Aamsanchar

दाङमा दिनहुँ आउँछन् बाघ, खोरमै पसेर १२ वटा बङ्गुर खायाे

Author Image
बिहिवार, साउन ३, २०८१

दाङ – तुलसीपुर उपमहानगरपालिका ८ गहतेखोलामा ७ र ८ वटा कृषि तथा पशुपक्षी फर्म रहेका छन्। उनीहरू तरकारी खेती र बङ्गुर पालन गर्दै आएका छन्। गत असार २८ गते ओके बहुउद्देश्य कृषि तथा पशुपक्षी फर्ममा पसेर बाघले एक दर्जन बङ्गुरका पाठा मारिदिएपछि स्थानीयहरू त्रसित बनेका छन्।

दैनिकजसो फर्ममा बाघ आउने गरेको भन्दै स्थानीयहरूले सम्बन्धित निकायलाई जानकारी गराउँदा ध्यान नदिएको गुनासो गरेका छन्।

एक बिगाहा जग्गा भाडामा लिएर विगत २ वर्षदेखि तरकारी खेती तथा बङ्गुर पालन गर्दै आएका कमल रोकाका १२ वटा १५ देखि २० केजीसम्म बङ्गुर बाघले केही खाएको छ, भने केहीलाई मारिदिएको थियो। २८ गते बिहान २ बजेतिर फर्म ३ वटा बाघहरू पसेर मारिदिएको उनको भनाइ छ। तर, अहिले पनि बाघ निरन्तर रुपमा आइरहने हुँदा आफू त्रसित रहेको उनले बताए।

उनले भने, ‘अहिलेसम्म यस्तो घटना भएको थिएन। राति शौचालय जाँदा बङ्गुर रहेको खोरमा बाघ पसेर मारेको देखेँ। एउटा ठूलो बाघ थियो, अरू दुईवटा साना बाघ थिए। मासुको लागि पालेका १२ वटा मध्ये ४र५ वटा खाएका थिए। अरू मारेको थियो। यसले गर्दा एक लाखभन्दा बढि नोक्सानी भयो।’

यस्तै, उनले घटना भएपछि आफूले वडा कार्यालय, प्रहरीमा खबर गरेको भन्दै बाघ नियन्त्रणको लागि सहयोग नभएको गुनासो गरे। २८ गते बाघले बङ्गुर मारेपछि आफूहरू रातभर नसुतेर बस्दै आएको बताए।

उनले भने,‘ घटना भएको अर्को दिन हामीहरू खोरभन्दा अलि टाढा बसेका थियौँ। फेरि एउटा बाघ आएर माउ बङ्गुरलाई आक्रमण गरेको छ। त्यो माउ अहिले घाइते भएको छ।’ फर्मदेखि माथि जङ्गल रहेको भन्दै बाघ त्यहीँबाट आउने उनको भनाइ छ। वार्षिक ८० हजार जग्गाको भाडा रहेको भन्दै उनले देशमै केही गरौँ, भन्दा यसरी नोक्सानी ब्यर्होनु पर्छ, म त पीडित नै भएको छु, यहाँ अन्य फर्मका पनि त्रसित भएको बताए।

यस्तै, उनले केही दिन अगाडि जङ्गलमा च्याउ खोज्न गएका महिलाहरूलाई पनि बाघले आक्रमण गरेर घाइते बनाएको भन्दै अहिले बङ्गुरहरूलाई आक्रमण गरेको हुँदा भोलिका दिनहरूमा मानवीय क्षति पनि गर्न सक्ने भन्दै सम्बन्धित निकाय समय मै बाघलाई नियन्त्रण गरी अन्य ठाउँमा लैजानुपर्ने बताए। उनीसँग अहिले ९ वटा माउहरू बङ्गुरहरू रहेका छन्। सोही ठाउँमा बङ्गुर पालन गर्दै आएकी झकी कुमारी बुढाले ६ वर्षदेखि बङ्गुर पालन गर्दै आइरहेकी छन्।

बाघले छिमेकीको बङ्गुर मारेपछि निकै त्रासमा रहेको र रातभर नसुतेर बस्ने गरेको उनले बताइन्। अहिलेसम्म यस्तो घटना नभएको भन्दै अहिले छिमेकीका १२ वटा बङ्गुर बाघले मारेपछि आफूहरूलाई डर लागेको उनले बताइन्।

उनले बाघले जङ्गलमा र गाउँमा छिरेर आक्रमण गर्न लागेको भन्दै बाघलाई नियन्त्रण गर्न वन कार्यालयलाई आग्रह गरेकी छन्। उनले भनिन्, ‘कति बेला बाघ बंगुरको खोरमा आएर मार्छ, भन्ने थाहा छैन। अर्कोतर्फ रातको समय बाहिर आउन पनि डर हुने भएको छ। बाघ कतै लुकेको छ, कि भन्ने त्रास रहन्छ।’

यस्तै, अर्का स्थानीय चुडामणि घर्ती मगरले पनि यहाँका स्थानीयहरु त्रसित रहेको बताए। उनले पनि जङ्गल र गाउँमा बाघले आक्रमण गर्न थालेको भन्दै सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए। दिनदिन नै बाघ गाउँमा आउने थालेपछी स्थानीयहरु त्रसित बनेका छन। अहिले बङ्गुरलाई मात्र आक्रमण गरेको बाघले कुनै दिन मानवीय क्षति पनि पुर्‍याउन सक्ने भएकाले बाघलाई नियन्त्रण लिई उचित ठाउँमा व्यवस्थापन गर्न सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर