Aamsanchar

कनकाईका एक युवाद्वारा तीनवटा क्षेत्रमा समाज सेवा गर्ने घोषणा

Author Image
बिहिवार, साउन २४, २०८१

 

कनकाई । मानिसका फरक फरक आ–आफ्नै व्यवसायहरू हुन्छ । व्यवसाय गर्नुको मूल उद्देश्य नाफा कमाउनु हो । धेरै व्यवसायीहरू आफूले कमाएको नाफा भरसक खर्च नगरौँ, गर्नै परे आफू र आफ्नो परिवारमा मात्र खर्च गरौँ । समुदायका लागि १ रुपैयाँ पनि लगानी गर्नु नपरोस् भन्ने र खर्च नगर्ने हरूको संख्या धेरै नै रहेको पाइन्छ ।

समाजमा केही व्यक्ति, व्यवसायीहरू भने फराकिलो सोच र सहयोगी भावनाले ओतप्रोत भएका हुन्छन । उनीहरूको चाहना आफूले कमाएको धन अरुका लागि पनि उपयोगी बन्न सकोस्, अरुका लागि सकेको सहयोग गर्न सके आफ्नो मनको चाहना पुरा हुने, सामाजिक कर्तव्य पुरा हुने, व्यवसायमा सफलता मिलेको महसूस गर्नेहरू पनि थुप्रै व्यक्तिहरू रहेका छन् ।

त्यस्तै समाजका लागि केही गरौँ, आफ्नो लागि मात्र होइन अरुका लागि सारथी बन्‍न सकौँ भन्ने सोच राख्ने झापा कनकाई नगरपालिका सुरुंगामा विगत १६ वर्ष देखि सुरुंगा एण्ड दोमुखा ड्राइभिङ सेन्टर सञ्चालक गर्दै आएका सूर्यप्रसाद चौलागाइँले तीनवटा क्षेत्रमा सामाजिक कार्य गर्ने घोषणा गरेका छन् । 

कनकाई नगरपालिका भित्र रहेका विपन्न, आदिवासी जनजाति समुदायका युवाहरूलाई निशुल्क ड्राइभिङ तालिम दिने, सडक दुर्घटना परेकाहरूलाई अस्पताल सम्म पुर्याउन निशुल्क गाडी उपलब्ध गराउने र आपतकालीन समयमा आइपर्ने रगत अभावलाई पूर्ति गर्न रक्तदाता समूह गठन गर्ने चौलागाइँले घोषणा गरेका हुन ।

आज (बिहिबार) आफ्नै कार्यालयमा पत्रकार भेटघाट आयोजना गरेर तीनवटा क्षेत्रमा मानवीय सेवाभावले कमगर्ने  चौलागाइँले घोषणा गरेका छन् ।
निशुल्क ड्राइभिङ तालिम तर्फ हरेक वर्ष १२ जनालाई तालिम प्रदान गरिने छ । सामाजिक क्षेत्रमा कार्यरत संस्था कारितासका कर्मचारीले  लक्षितवर्गबाट छनौट गरेर सिफारिस गरेका युवाहरूलाई  तालिम प्रदान गरिने र उक्त तालिका लागि जम्मा ३ लाख रुपैयाँ बराबरको तालीम सुविधा उपलब्ध हुने चौलागाइँले बताए ।

सवारी दुर्घटनामा परि घाईते  भएका व्यक्तिहरूलाई तत्काल अस्पताल पुर्याउनको लागि सार्वजनिक यातायातले बिरामीलाई अस्पताल लैजान नमान्ने, हिच्किचाहट गर्ने, बिरामी लैजान एम्बुलेन्स नै पर्खनु पर्दा समय लाग्ने भएकाले बिरामीले छिटो उपचार पाउन नसक्दा मृत्यु सम्म भएको घटना देखेर दुर्घटनामा परेका बिरामीलाई छिटो अस्पताल पुर्याउन सकियोस् भनेर मानव सेवाका लागि आफ्नो गाडी उपलब्ध गराउने निर्णय गरेको उनले बताए ।

त्यसैगरी बिरामीलाई ताजा रगत चाहिएको बेला रक्तदाता खोज्न धेरै समय लाग्ने र रक्त समूह यकिन गर्न पनि समस्या हुने गरेकोले आफ्नो ड्राइभिङ सेन्टरमा सशुल्क तालिम लिन आउने प्रशिक्षार्थीहरूको रक्त समूह परिक्षण गरेर आफूहरूले अभिलेख राख्ने गरेको हुँदा ताजा रगत चाहिएको अवस्थामा तिनै प्रशिक्षार्थीहरूलाई रक्तदान गर्नको लागि आग्रह र जानकारी गराइने चौलागाइँले आमसंचारलाई बताए ।

उनले भने हरेक महिना २५ देखि ३० जना प्रशिक्षार्थीहरू ड्राइभिङ सेन्टरको सम्पर्कमा हुने गरेका छन् ।

चौलागाइँले सञ्चालन गर्दै आएको ड्राइभिङ सेन्टरमा ७ जना चालकहरू कार्यरत रहेका छन । दैनिक ४ वटा सानो गाडी मार्फत ड्राइभिङ तालिम उपलब्ध गराउदै आएको सुरुंगा एण्ड दोमुखा ड्राइभिङ सेन्टरबाट हालसम्ममा २ हजार भन्दा धेरैले तालिम लिएर देश विदेशमा स्वरोजगार बनेको बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
6
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)