Aamsanchar

ठेलामा सातु बेचेर मासिक ५० हजार आम्दानी

Author Image
सोमवार, कार्तिक २६, २०८१

सुनसरी- सुनसरी सदरमुकाम इनरुवा-१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारस्थित सुपरमार्केटमा ठेला लिए आइपुग्छन्। ठेलामा माटोका भाडामा पानी, चनाको सातु, प्याज र कागती हुन्छ। उनको ठेला देख्नेबित्तिकै सातु खाने मानिसको भीड हुन्छ। उनको सातु स्वादिष्ट हुने गरेको उपभोक्ता बताउँछन्। उनले भने, ‘ठेला राम्रो छैन तर ग्राहक सातु खुवाएर सन्तुष्टि छन्। सातु बिक्री गरेर मासिकरूपमा ५० हजार रुपैयाँ आम्दानी हुन्छ।’

गर्मीयामका बेलामा रु एक लाख मासिक कमाउने गरेको र चिसोको बेलामा आम्दानी हुने उनको भनाइ छ। चिसोका वेलामा दैनिक रूपमा १०० सयदेखि १५० गिलाससम्म सातु बिक्री हुने गरेको छ भने गर्मीका बेलामा २०० देखि २५० गिलाससम्म सातु बिक्री हुने गरेको उनले बताए। उनले करिब पाँच वर्षदेखि इनरुवाको मुख्य बजारमा सातु बिक्री गर्दै आएका छन्। उनले विगतका वर्षमा विभिन्न व्यापार गर्दा असफलता प्राप्त भएकामा यस व्यापारले राम्रो फाइदा भएको बताए।

दैनिक रूपमा सामग्री महँगिँदै गएका वेलामा प्रतिगिलास सातुको ४० रुपैयाँ लिने गरेको उनको भनाइ छ। दैनिक रूपमा चार हजारदेखि पाँच हजारसम्मको बिक्री हुने गरेकोमा खर्च कट्टा गरेर मासिक रूपमा ५० हजारदेखि ६० हजारसम्म आम्दानी हुने गरेको पौदारले बताए। सातु बेचेरै छोरीको बिहे गर्नुका साथै पाँच घरपरिवार चलाउँदै आएको उनले बताए। आर्थिक अभावका कारणले आफ्नो उपचार गराउनका लागि समस्या भएको बेलामा सातुको आम्दानीले आफ्नो उपचार गराउनका लागि समेत सफल भएको उनको भनाइ छ।

एक लाखदेखि दुई लाख खर्च गरेर विदेशमा गएर ४० हजारदेखि ५० हजार आम्दानी गर्दै आएकोमा आफू सोही बराबरको लगानीमा घरमै बसेर राम्रो आम्दानी गर्दै आएको र दैनिक रूपमा सयौँ साथीभाइसँग भेट समेत गर्दै आएको उनले बताए। उनले भने, ‘स्वदेशमै काम गरे वैदेशिक रोजगारीका लागि अर्काको देशमा पसिना बगाउनुपर्दैन।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर