Aamsanchar

कर्णाली याक्समा अनुबन्धित ओमानका पूर्वकप्तान जिसन मक्सुद नेपाल आइपुगे

Author Image
बिहिवार, मंसिर १३, २०८१

 

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को टिम कर्णाली याक्समा अनुबन्धित ओमानका पूर्वकप्तान जिसन मक्सुद नेपाल आइपुगेका छन् । बिहीबार उनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे, हिमालयन विल्डर्स एन्ड इन्जियर्सका उपाध्यक्ष सुजन खनाललगायत व्यक्तिले स्वागत गरे । उनले ओमानका निम्ति ४८ एकदिवसीय खेलमा एक हजार २७३ रन बनाएका छन् । ७३ ट्वान्टी–२० खेलमा एक हजार ३६९ रन बनाएका छन् । यस्तै, बलिङतर्फ ट्वान्टी–२० आईमा ५१ विकेट लिएका छन् । उनी नेपाली क्रिकेटसँग नजिकबाट परिचित पनि छन् ।

ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । कर्णाली याक्सले गएको साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टिममा अनुबन्ध गरिसकेको छ । उनी एनपीएल खेल्ने सबैभन्दा ठूलो नाम हुन् । टिममा वेस्ट इन्डिजबाट टेस्ट खेलिसकेका चाडविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात पनि छन् । यस्तै, टिममा नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनाल, नन्दन यादव छन् । ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । ट्यालेन्ट हन्टबाट विपीनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिएको छ ।

कर्णाली याक्सले यसअघि कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरिसकेको छ । टिमको युथ एम्बास्डरमा सिसन बानियाँ छन् । हस्पिटालिटी पार्टनरमा होटेल हिल्टन रहेको छ । प्रतियोगिता यही मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुँदै छ । कर्णाली याक्सले आफ्नो पहिलो खेलमा जनकपुर बोल्टको सामना गर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर