माघे संक्रान्ति नेपालका विविधतापूर्ण पर्वहरूमध्ये एक महत्त्वपूर्ण पर्व हो। यो पर्व प्रत्येक वर्ष पौष महिनाको अन्त्यमा मनाइन्छ र माघ महिनाको सुरुवातसँगै आउने यो दिनलाई विशेष महत्त्वका साथ मनाइन्छ। माघे संक्रान्तिलाई कतिपय स्थानहरूमा मकर संक्रान्ति पनि भनिन्छ। यो पर्व विशेषगरी हिन्दू धर्मावलम्बीहरूद्वारा मनाइन्छ र यस दिनलाई ’उत्तरायण’ अर्थात् सूर्यको उत्तरतर्फको यात्रा सुरु हुने दिनका रूपमा लिइन्छ।

माघे संक्रान्तिको मुख्य विशेषता घ्यु, चाकु, तिलको लड्डु, तरुल, गुँड, चना जस्ता परिकारहरू खाने चलन हो। यी परिकारहरूले स्वास्थ्यलाई फाइदा पुर्याउने मान्यता छ। विशेषगरी जाडो महिनामा शरीरलाई ऊर्जा प्रदान गर्ने र स्वास्थ्य सुधार गर्ने भएकाले यी खाद्य परिकारहरूको प्रयोग गरिन्छ। घ्यु र चाकुलाई यस पर्वको प्रतीककै रूपमा लिने गरिन्छ।

यस पर्वको धार्मिक महत्त्व पनि धेरै छ। माघे संक्रान्तिका दिन देवनदीहरूस्वर्ग जाने मान्यता रहेकोले पवित्र नदीहरूमा स्नान गर्ने चलन छ। विशेष गरी त्रिशूली, कालीगण्डकी, सुनकोशी जस्ता पवित्र नदीनजिक मानिसहरूको भीड लाग्ने गर्छ। यस दिन स्नान, दान, र पूजाआजाले पुण्य प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ।

माघे संक्रान्ति सूर्य देवताको पूजा गर्ने पर्व हो। हिन्दू धर्मग्रन्थहरूका अनुसार यो दिनबाट सूर्य दक्षिणायनबाट उत्तरायणमा प्रवेश गर्ने भएकाले यसलाई शुभ दिन मानिन्छ। धार्मिक कथनअनुसार, माघे संक्रान्तिका दिन महाभारतका पात्र भीष्म पितामहले आफ्नो देहत्याग गरेका थिए। उनले आफ्नो मृत्युलाई उत्तरायणमा सारेर आत्माको मोक्ष प्राप्त गरेका थिए भन्ने जनश्रुति छ।


सामाजिक रूपमा पनि यो पर्वले ठूलो महत्त्व राख्छ। परिवारका सदस्यहरू एकै ठाउँमा भेला भएर परम्परागत परिकारहरू खाने र आपसी प्रेम र सद्भाव बढाउने काम यस दिन गरिन्छ। ग्रामीण भेगमा विशेषगरी माघे संक्रान्तिका अवसरमा मेलाहरूको आयोजना गरिन्छ। यी मेला स्थानीय संस्कृति, परम्परा र समाजको जीवनशैली झल्काउने माध्यम बन्छन्।
यसरी, माघे संक्रान्ति नेपाली समाजमा धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा गहिरो प्रभाव पार्ने पर्व हो। प्रकृतिसँग सामञ्जस्यता राख्दै यो पर्वले स्वस्थ जीवनशैली र आपसी मेलमिलापलाई प्रवद्र्धन गर्ने महत्त्वपूर्ण भूमिका खेल्छ।

