Aamsanchar

झापा गाउँपालिकाले २९१ विद्यार्थीलाई साइकल वितरण गर्दै शैक्षिक पहुँचमा पहल

Author Image
शनिवार, माघ १२, २०८१

कुमरखोद ।  झापा गाउँपालिकाले शिक्षा क्षेत्रमा ऐतिहासिक कदम चाल्दै सामुदायिक विद्यालयका २९१ जना कक्षा ९ का विद्यार्थीलाई साइकल वितरण गरेको छ। शुक्रबार आयोजित विशेष कार्यक्रममार्फत विद्यार्थीसँगै अभिभावक र विद्यालय समुदायले यो योजनाको स्वागत गरेका छन्।

पालिका कार्यालयमा आयोजित कार्यक्रममा प्रत्येक विद्यार्थीलाई ७ हजार रुपैयाँ बराबरको साइकल वितरण गरिएको हो। डिल्लीराज माविका ७७, कुवाडीदेवी माविका १३, महेन्द्र माविका २४, जनता माविका १४० र जनकल्याण माविका ४२ जना विद्यार्थीलाई साइकल प्रदान गरिएको कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले जानकारी दिइन्।

कार्यक्रमको उद्देश्यबारे बताउँदै थपलियाले भनिन्, “यो योजनाले विद्यार्थीको आवतजावतलाई सहज बनाउने मात्र होइन, शैक्षिक गुणस्तरमा सुधार ल्याउन र विद्यार्थीलाई नियमित विद्यालय आउने प्रेरणा दिनेछ।”

शिक्षा क्षेत्रमा पालिकाको ठूला लगानी
प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले पालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिँदै यस वर्ष ३ करोडभन्दा बढी रकम छुट्याएको र उक्त बजेटबाट साइकल खरिद गरिएको बताए। “पहिल्यैका विद्यार्थीलाई साइकल दिइसकेका कारण यस वर्ष १२ लाख ८ हजार रुपैयाँको मात्र साइकल खरिद गरिएको हो,” उनले भने।

विद्यार्थी र समुदायमा उत्साह
कार्यक्रममा सहभागी विद्यार्थी र शिक्षकहरूले साइकल प्राप्तिले शिक्षा क्षेत्रमा नयाँ ऊर्जा थपेको अनुभव सुनाए। कुवाडीदेवी माविकी रेजिना घोर्सानेले साइकलले विद्यालय पुग्न सजिलो हुने र समय बचत हुने बताइन्। जनता माविका राजेश खड्काले यो योजनाले आफूसहित अन्य साथीहरूको पढाइमा सकारात्मक प्रभाव पर्ने बताए।

शिक्षा शाखा प्रमुख जीवनप्रसाद ढकालले कार्यक्रम सञ्चालन गरेका थिए भने शिक्षा शाखाकी अम्बिका गौतमले स्वागत मन्तव्यसहित योजनाको उद्देश्य प्रस्ट्याएकी थिइन्।

सामुदायिक विद्यालयहरूको सहयोगात्मक भूमिका
झापा गाउँपालिकामा ५ मावि, ५ निमावि र ११ प्रावि गरी कुल २१ सामुदायिक विद्यालय रहेका छन्। पालिकाले यी विद्यालयहरूमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरूको सहायताका लागि यसरी विविध योजना ल्याउँदै आएको छ।

यस प्रकारका योजनाले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग पुर्याउने मात्र होइन, पालिकाको समग्र शैक्षिक विकासको मोडल प्रस्तुत गर्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर