



बिर्तामोड । बिर्तामोड गायत्री माता मंरिदमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भक्तजनका लागि जुत्ता-चप्पल सुरक्षित राख्ने विषयमा विशेष व्यवस्था गरिएको छ । धार्मिक स्थलहरूमा जुत्ता-चप्पल कुल्चिने, हराउने तथा चोरी हुने समस्याले भक्तजनलाई हैरान पार्ने गरेको छ । विशेष गरी महँगा जुत्ता-चप्पल हराउँदा मानिसहरू असहज महसुस गर्ने गर्छन् ।

यस्तै समस्या न्यूनीकरण गर्न बिर्तामोडस्थित नव निर्मित गायत्री माता मन्दिरमा आयोजित पाँच दिवसीय धार्मिक कार्यक्रममा उत्कृष्ट व्यवस्थापन (पादुका सेवा) उपलब्ध गराइएको छ ।


भक्तजनलाई जुत्ता-चप्पलको सुरक्षा प्रदान गर्न आयोजक समितिले विशेष उपाय अपनाएको थियो । प्रत्येक व्यक्तिको जुत्ता-चप्पललाई प्लास्टिकको झोलामा राखेर टोकन नम्बर वितरण गरिन्थ्यो । यस व्यवस्थाका कारण जुत्ता-चप्पल हराउने वा बिग्रिने सम्भावना न्यून बनाइएको छ ।


समितिले जुत्ता-चप्पल व्यवस्थापनका लागि १० जना भन्दा धेरै स्वयंसेवक खटाएको थियो । स्याम महोत्सव समितिका कौशल अग्रवाल, रोहित अग्रवाल, नवराज राजवंशी, शोनु अग्रवाल, शुशिल अग्रवाल, अंकित अग्रवाल, सूर्य बंशल, रोहन बजाज, एरिक अग्रवाल, धिरु अग्रवाल, मेनक विन्दल, आरभ अग्रवाल, विनायक अग्रवाल, धिरज अग्रवाल रहेका थिए ।
करिब ४,००० जनाको जुत्ता-चप्पल व्यवस्थित रूपमा राख्न सकिने स्थान तयार पारिएको थियो ।
कार्यक्रमको चौथो दिनसम्म दैनिक २,००० तथा अन्तिम दिन ३,००० भक्तजनका जुत्ता-चप्पल सुरक्षित रूपमा राखिएको जुत्ता-चप्पल व्यवस्थापन उपसमिति संयोजक रितेश अग्रवालले जानकारी दिए ।
भक्तजनहरूलाई सुविधा प्रदान गर्नुका साथै धार्मिक कार्यक्रमको व्यवस्थापन स्तर पनि उन्नत बनाउँछ। यो व्यवस्थापन अन्य धार्मिक तथा सार्वजनिक कार्यक्रमहरूमा पनि अनुकरणीय हुन सक्छ।