Aamsanchar

नेपालमा पहिलो पटक मौरीको घारमा लाग्ने ´ट्रोपिलाप्सिस माइट` नामको सुलसुले देखियो

Author Image
मङ्गलवार, माघ २२, २०८१

चितवन – मौरीको घारमा लाग्ने ´ट्रोपिलाप्सिस माइट`नामको सुलसुले नेपालमा पहिलो पटक देखा परेको छ । भारतलगायत एशियाका देशमा मौरीको घारमा ठूलो समस्याका रूपमा देखा परेको ´ट्रोपिलाप्सिस माइट` नामको एक प्रकारको सुलसुले नेपालमा पहिलो पटक देखा परेको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयले आयोजना गरेको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका विदेशी वैज्ञानिकहरूले चितवनको मौरी घारको निरीक्षणका क्रममा सुलसुले फेला पारेका हुन् । विश्वविद्यालयको कृषि सङ्कायले आयोजना गरेको ‘कृषि रूपान्तरण’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी कोरिया र ताइवानका वैज्ञानिकको टोलीसँगै पूर्वी चितवनमा रहेको व्यावसायिक मौरी घारमा निरीक्षणका क्रममा माइट देखिएको हो ।

सम्पूर्ण प्रमाण समावेश गरी नेपाल सरकारलाई पेश गरेपछि आधिकारिक रूपमा सरकारले माइट भएको प्रमाणित गर्नुपर्ने हुन्छ । अहिलेसम्म नेपाल सरकारले यो रोग नदेखिएको जनाउँदै आएको छ । खाग र भीरमौरीमा देखिएको भए पनि व्यावसायिक रूपमा पालिएका मेलिफेरामा रोग देखिएको थिएन ।

मौरी तथा परागसेचनविज्ञ डाक्टर केदार देवकोटाका अनुसार विदेशी वैज्ञानिकहरूले निरीक्षणका क्रममा देखिएका माइट ट्रोपिलाप्सिस भएको पुष्टि गरेका हुन् । अनुसन्धानकै क्रममा भेरवा माइटसमेत देखिएको र यो जुन, जुलाई तथा अगस्ट महिनामा थप बढ्ने भएकाले सतर्क रहन किसान र नेपाली विज्ञलाई समेत उनीहरूले सुझाव दिएका देवकोटाले जानकारी दिनुभयो ।

वैज्ञानिकहरूसँगै रहनुभएका नेपाल मौरीपालक सङ्घका निवर्तमान अध्यक्ष शिव शर्माले माइट देखिएकाले अब किसानले सतर्क भएर काम गर्नुपर्ने बताउनुभयो । माइट फैलन नदिन सावधानी अपनाएर काम गर्नुपर्ने उहाँले बताउनुभयो । यसले मौरीलाई ठूलो असर पुर्‍याउने र समयमा नै नियन्त्रणका लागि काम थाल्नुपर्ने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर