

स्याङ्जा- महिलालाई उत्पादनमा जोड्न बाख्राको बिउ पाठी र बोका वितरण गरिएको छ। वालिङ नगरपालिका २ स्थित तिलडाँडा स्वावलम्बी महिला समूहका सदस्यहरूलाई बोका र पाठी प्रदान गरिएको हो। दलित महिलामात्र आबद्ध रहेको सो समूहका २४ जनालाई बोका र पाठी वितरण गरिएको परियोजना संयोजक राधाकृष्ण डुम्रेले जानकारी दिए।

आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत वालिङ नगरपालिका र हेफर परियोजनाको आर्थिक सहयोग तथा स्थानीय दियालो संस्थाको व्यवस्थापनमा कृषि विकास परियोजना संचालनमा छ। सोही परियोजना अन्तरगत बीउ पुँजीका रूपमा बोका र पाठी वितरण गरिएको हो। ‘भोकालाई एक छाक भोजन होइन, जिउने जुक्ति सिकाऔं’ भन्ने अभियानका साथ महिलालाई आयआर्जनमा जोड्नका निमित्त परियोजना सञ्चालन गरिएको वडाअध्यक्ष पोतप्रसाद लम्सालको भनाइ छ। बोका र पाठी ग्रहण गर्दै यस्ता खालका सहयोगले महिलामा थप उत्साह जगाएको तिलडाँडा स्वाबलम्वी महिला समूहका अध्यक्ष उमाकुमारी दमैले बताइन्।