Aamsanchar

कनकाई नगरमा ७९.०२५ प्रतिशत किशोरीलाई एचपीभी खोप लगाइयो

Author Image
सोमवार, माघ २८, २०८१

कनकाई । झापाको कनकाई नगरपालिका स्वास्थ्य कार्यालयले पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको एचपीभी ९ह्युमन पापिलोमाभाइरस० खोप अभियान सफलतापूर्वक सञ्चालन गरेको छ। अहिलेसम्म ७९.०२५ प्रतिशत किशोरीलाई यो खोप लगाइयो, जसले क्यान्सरको जोखिमलाई कम गर्ने आशा गरिएको छ।

कनकाई नगरपालिकामा कुल ३,०९९ किशोरी रहेका छन्, जसमा २,४४९ किशोरीले खोप लगाएका छन्। खोप लगाउने किशोरीहरूमा कक्षा ६ का ५१७ छात्रा र कक्षा ७ देखि कक्षा १० सम्मका १,८८५ छात्रा प्रमुख छन्। यसैगरी, विद्यालय नजाने १० वर्षका २ जना र ११ देखि १४ वर्षसम्मका ४५ जना किशोरीहरूलाई पनि खोप लगाइएको छ।

नगर स्वास्थ्य शाखाका अनुसार, स्वास्थ्यकर्मी, स्वयम् सेवक र सुपरिवेक्षक सहित २ सय जनाको टोलीले ३९ खोप केन्द्रमा खोप अभियान सञ्चालन गरेका छन्। यस अभियानको मुख्य उद्देश्य पाठेघरको मुखको क्यान्सर रोकथाम गर्नु हो, जुन विश्वमा चौथो र नेपालमा दोस्रो स्थानमा पर्ने क्यान्सरको प्रकार हो।

यस अभियानका प्रमुख जनस्वास्थ्य निरीक्षक केशव रिजालका अनुसार, एचपीभी खोपको एक डोजले वयस्क उमेरमा देखा पर्ने क्यान्सर रोग रोक्न मद्दत गर्छ। क्यान्सरका सामान्य लक्षणहरूमा तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, अनियमित रक्तस्राव, कमजोरी महसुस हुनु र रक्ताल्पता सामेल छन्।

नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले अभियानलाई सफल बनाउन विभिन्न संघसंस्था, अभिभावक र शिक्षकहरूको सक्रियतासमेत सराहना गरेका छन्। उनले यस अभियानमा सबैको सहकार्यले मात्र सफलता सम्भव भएको बताएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)