



१, रणनीतिक सडकको प्रगतिबारे प्रश्न :
एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले अघिल्लो कार्यकालमा शिलान्यास गरिएका १६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडक किन अलपत्र परेका छन् भनी प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्री ओलीले उल्टै प्रतिप्रश्न गर्दै भने, ‘प्रश्नकर्ता माननीयज्यू त आफैं पनि त्यसपछिको सरकारमा भौतिक पूर्वाधारमन्त्री हुनुहुन्थ्यो कि जस्तो लाग्छ।’ ओलीले आफू पुनः सरकारमा आएपछि ती सडक निर्माण कार्यलाई अघि बढाएको दाबी गरे।

२, अस्पताल निर्माणको प्रगतिबारे प्रश्न :
ज्वालाले नै ओली सरकारको अघिल्लो कार्यकालमा शिलान्यास गरिएका ३९६ अस्पतालको निर्माण कार्य सुस्त रहेको भन्दै प्रश्न उठाएका थिए। यसमा पनि प्रधानमन्त्री ओलीले व्यंग्यात्मक शैलीमा प्रतिक्रिया दिँदै भने, ‘कार्यक्रम रद्द गर्नेहरूले नै फेरि किन कार्यक्रम पूरा भएन भनेर प्रश्न गर्नु ?’ उनले अहिले स्रोत साधन अनुसार ती अस्पताल निर्माणलाई प्राथमिकता दिइएको बताए।


३, अर्थतन्त्र सुधारबारे प्रश्न :
माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र सुस्त भएको, पूँजीगत खर्च न्यून रहेको, महँगीले जनता मारमा परेका र युवा विदेश पलायन बढेको विषयमा सरकारको नीति र प्राथमिकता के छ भनी प्रश्न गरे। जवाफमा ओलीले पुनलाई अघिल्लो कार्यकालको स्मरण गराउँदै भने, ‘७ महिना अगाडि तपाईं आफैं अर्थमन्त्री हुनुहुन्थ्यो। अहिले पूँजीगत खर्च त्यतिबेला भन्दा १५ प्रतिशतले वृद्धि भएको छ।’


४,मेरिटोक्रेसी र राजनीतिक हस्तक्षेपबारे प्रश्न :
पुनले नै विश्वविद्यालय तथा संस्थानहरूमा मेरिटोक्रेसी लागू गर्ने विषयमा सरकारको धारणा मागेका थिए। जवाफमा ओलीले विगतमा मेरिटोक्रेसीको नारा दिएर योग्य व्यक्ति पछाडि पारिएको आरोप लगाए। उनले भने, ‘मेरिटोक्रेसी आलंकारिक भाषणको विषय होइन। प्रथम हुने आउट, दोस्रो हुने इन गरिएपछि त्यो मेरिटोक्रेसी हो ?’
प्रधानमन्त्री ओलीले अधिकांश प्रश्नको जवाफ दिनुको साटो आलोचनात्मक र व्यंग्यात्मक शैलीमा प्रतिप्रश्न गरेका थिए। विपक्षी सांसदहरूले मुलुकका गम्भीर समस्या उठाउँदा पनि प्रधानमन्त्रीको प्रस्तुति आक्रामक र बचाउमुखी देखिएको टिप्पणी गरिएको छ।