सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारबाट कर्णालीमाथि हुँदै आएको उपेक्षालाई तोड्नका लागि निरन्तर प्रयास भइरहेको बताएका छन्। सोमबारदेखि सुर्खेतमा सुरु भएको छैटौं कर्णाली उत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली समस्याले मात्र भरिएको खाल्डो नभई सम्भावनाको ठूलो भण्डार रहेको उल्लेख गरे।

उनका अनुसार पछिल्लो समय संघीय सरकारले कर्णालीका केही महत्वपूर्ण सडक आयोजना र पूर्वाधार निर्माणका लागि ठूलो बजेट विनियोजन गरेको छ। उनले कर्णाली करिडोर, भेरी करिडोर, गमगढी(नाक्चेनाङ्गला सडकजस्ता रणनीतिक महत्वका सडकको स्तरोन्नति र निर्माण कार्यलाई तीव्रता दिन पर्याप्त बजेट छुट्याइएको जानकारी दिए। साथै, अनियमित विद्युत् आपूर्तिलाई नियमित गर्न १३२ केभी क्षमताको विद्युत् प्रसारण लाइन र सुर्खेत विमानस्थल स्तरोन्नतिका लागि नीति तथा योजना तहमा काम भइरहेको बताए।

मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशका हरेक जिल्लामा आर्थिक, धार्मिक र सांस्कृतिक हिसाबले अपार सम्भावना रहेको उल्लेख गरे। उनले मानसरोवर मार्ग, फोक्सुण्डो ताल तथा हिमाली भेगका पर्यटनस्थलले कर्णालीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित गराएको बताए। साथै, जडीबुटी, कृषि उत्पादन, वनजंगल तथा जलस्रोतको प्रचुरता कर्णालीको मुख्य सम्पदा भएको उनले उल्लेख गरे।


यति सम्भावना हुँदाहुँदै पनि कर्णालीलाई भोक, रोग र शोकसँग जोडेर हेर्ने परम्परागत धारणा हटाउन जरुरी रहेको मुख्यमन्त्री कँडेलको भनाइ छ। “समस्याको खाल्डो बनाइएको कर्णालीलाई अब सम्भावनाको सरोवरमा रूपान्तरण गर्नुपर्छ,” उनले भने।


उनले कर्णाली अब भोक र अभावको प्रतीक नरहेको बताउँदै प्रदेश सरकारले आफ्नो अधिकार क्षेत्रभित्रका काम इमानदारीपूर्वक गरिरहेकाले संघीय सरकारले पनि कर्णालीका मागप्रति संवेदनशील हुनुपर्ने धारणा राखे।
कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा। द्वारिका उप्रेतीले तीनै तहका सरकारले रोजगारी तथा उत्पादनसँग सम्बन्धित योजनामा प्राथमिकता दिनुपर्ने बताए। नेपाल सरकारका पूर्वसचिव केवलप्रसाद भण्डारीले सामाजिक संवादको निरन्तरता आवश्यक भएको उल्लेख गर्दै कर्णाली उत्सव जस्ता कार्यक्रमले पछाडि परेका समुदायलाई अगाडि बढाउन टेवा पुग्ने बताए।