



काठमाडौँ – जङ्गली हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु भएपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग केही घण्टापछि खुलेको छ।

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले अवरुद्ध गरेको राजमार्ग मध्याह्न १२ बजेपछि खुलेको जिल्ला प्रहरी कार्यालय बर्दियाका इन्स्पेक्टर एवम् निमित्त सूचना अधिकारी कृष्णा डाँगीले जानकारी दिएका छन्।


भुरिगाउँ चिसापानी सडकखण्डको बलाती भन्ने स्थानमा स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका थिए। मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि दिगो समाधान खोज्नुपर्ने माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए।


राजमार्ग खुलेसँगै केही घण्टा रोकिएका लामो तथा छोटो दूरीका यातायातका साधन सञ्चालनमा आएका छन्। घटनापछि सडक सुरक्षाका लागि नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तैनाथ गरिएको थियो।
गए राति ठाकुरबाबा नगरपालिका–२ बलातीका ७१ वर्षीय बोलीराम थारुको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो।