Aamsanchar

नेपालमा मौलाउँदै गएको सुन तस्करी : फुच्चे पक्राउ, २५ करोड बराबरको विदेशी मुद्रा बरामद

Author Image
मङ्गलवार, चैत ५, २०८१

झापा ।  नेपालमा अवैध रूपमा सुन तस्करी र विदेशी मुद्रा ओसारपसारको जालो फैलिँदै गएको छ। पछिल्लो घटनामा, प्रहरी प्रशासनले ठूलो मात्रामा गैरकानुनी विदेशी मुद्रा सहित तस्करीको गिरोह संलग्न व्यक्तिलाई पक्राउ गरेको छ।

चैत ४ गते मध्यराति १० बजे काठमाडौंको टोखा क्षेत्रको झोर महांकालबाट प्रहरीले ना.७ ख १६५२ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो। ट्रक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का कुसाङ लामा उर्फ ‘फुच्चे’ ले चलाएका थिए।

उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले ट्रक जाँच गर्दा, ड्राइभर सिटको ‘वोनेट’ भन्दा माथि फल्स बटम बनाई लुकाइएको अवस्थामा २५ करोड १ लाख ६० हजार बराबरको युरो र डलर फेला परेको थियो। एसएसपी रमेश बस्नेतका अनुसार, विदेशी मुद्रा लुकाएर केरुङ नाकाबाट चीनतर्फ सुन किन्ने उद्देश्यले तस्करी गरिँदै थियो।

तस्करीको पुनरावृत्ति

कुसाङ लामालाई यसअघि पनि २०७३ पुस १३ गते सुन तस्करीकै आरोपमा पक्राउ गरिएको थियो। ७ केजी सुनसहित पक्राउ परेका उनी पाँच वर्ष जेल बसेर २०७८ मा रिहा भएका थिए। तर, जेलमुक्त भएपछि उनले फेरि तस्करीको काम सुरु गरेका थिए। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार, उनी लामो समयदेखि भरिया र चालकको रूपमा सुन तस्करीमा संलग्न थिए।

तस्करीको जालो विस्तार

नेपालमा विदेशी मुद्रा ओसारपसार र सुन तस्करीको गतिविधि विगत केही वर्षयता तीव्र रूपमा वृद्धि भइरहेको छ। चीनसँगको केरुङ नाका, भारतसँगका खुला सिमानाहरू, र अवैध मार्गहरूको प्रयोग गरी सुन तथा विदेशी मुद्रा नेपाल भित्र्याउने र बाहिर लैजाने गिरोह सक्रिय देखिन्छ।

यसरी पटक–पटक पक्राउ परे पनि तस्करहरू फेरि सक्रिय हुन सक्ने अवस्था सुरक्षाप्रणालीमा कमजोरी रहेको संकेत गर्छ। सरकारी निकायहरूबीच समन्वयको अभाव, सीमित स्रोतसाधन, र भ्रष्टाचारले यस्ता गतिविधि नियन्त्रण गर्न कठिनाइ सिर्जना गरिरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर