




इलाम – इलामको रोङ गाउँपालिकाले स्थानीय कृषकलाई हौसला दिन ‘गुरु किसान’ घोषणा गरेको छ।

आज(बिहिबार) वडा नम्बर ५, इरौटारमा आयोजित भव्य समारोहमा १२१ कृषकलाई ‘गुरु किसान’ को रूपमा घोषणा गरिएकाे हाे। कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी विकासमन्त्री खगेनसिंह लिम्बूको उपस्थिति रहेको थियो।


गाउँपालिकाले स्थानीय उत्पादन रायो सागलाई गन्द्रुकको रूपमा ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा पुर्याउँदै आएको छ। मह, बेसार, अम्रिसो, चिया, अदुवाको व्यवसायिक बजारीकरणमा पनि पालिकाले जोड दिएको अध्यक्ष मणिकुमार स्याङबोले जानकारी दिए।


त्यस्तै, समारोहका बीच साना किसान कृषि प्रशोधन उद्योगको उद्घाटनसमेत गरियो। मन्त्री अधिकारी, मन्त्री लिम्बू, अध्यक्ष स्याङबो, उपाध्यक्ष विष्णुमाया खवासलगायतले उद्योगको उद्घाटन गरे। उद्योगको शिलालेख र गुरु किसानको झन्डा अनावरण गरिएको थियो।
गुरु किसान कार्यक्रममार्फत उत्कृष्ट ज्ञान, सीप, दक्षता भएका कृषक छनोट गरी कृषि तथा पशुपालन सम्बन्धी सीप हस्तान्तरण गर्ने योजना रहेको छ। किसानलाई वित्तीय, डिजिटल तथा पोषण साक्षरतामा अभ्यस्त गराउने, गुणस्तरीय उत्पादन प्रवर्द्धन गर्ने र कृषि व्यवसायलाई सम्मानित पेशाका रूपमा विकास गर्ने लक्ष्य कार्यक्रमले राखेको छ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा। गोविन्दप्रसाद शर्मा, कृषि विकास महाशाखा प्रमुख रामकृष्ण श्रेष्ठ, योजना तथा विकास समन्वय महाशाखा प्रमुख डा। हरिबहादुर केसी, कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेल, कोशी प्रदेश कृषि मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे, निर्देशनालयका प्रकाशकुमार डाँगी तथा अलैँची–अदुवा व्यवसायीहरू सहभागी थिए।
गुरु किसान कार्यक्रम अन्तर्गत किसानहरूलाई जलवायु अनुकूलित खेती प्रणालीमा अभ्यस्त गराउँदै, गुणस्तरीय उत्पादनका लागि आवश्यक प्राविधिक जनशक्ति तथा प्रयोगशाला पूर्वाधार उपलब्ध गराउने योजना रहेको अध्यक्ष स्याङबोले बताए।