Aamsanchar

युनिकम नेपाल र उद्योग वाणिज्य महासंघ गण्डकी बीच ११ बुँदे सम्झौता पत्रमा हस्ताक्षर

Author Image
शुक्रवार, चैत ८, २०८१

पोखरार ।  नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश र नेपाल व्यापार कर्मचारी सङ्घ युनिकम नेपालबीच बिहिबार साँझ ११ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
असल श्रम सम्बन्ध सुदृढ बनाउँदै श्रम कानुनको व्यावहारिक कार्यान्वयनका निमित्त पोखरामा भएको सम्झौता पत्रमा महासङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष सूर्य भुजेल र युनिकम नेपालका अध्यक्ष गजेन्द्रबहादुर पौडेलले हस्ताक्षर गर्नुभयो।

सम्झौता पत्र हस्ताक्षर र आदानप्रदान कार्यक्रममा सहभागी वक्ताहरुले रोजगार प्रदायक र श्रमिक बीचको असल सम्बन्धले मात्रै समृद्धि हासिल गर्न सकिने धारणा राखेका थिए । उनीहरुले आपसमा विश्वासको वातावरण बनाउन यो सम्झौताले प्रधान भूमिका खेल्ने धारणा व्यक्त गरे । सम्झौता पत्र हस्ताक्षर समारोहमा सास्क फिनल्यान्ड प्रतिनिधि मारी तैभनिनले भर्चुअल सम्बोधन गरेकी थिइन्।

त्यसअघि युनिकम नेपाल र उद्योग वाणिज्य संघका पदाधिकारीबीच सामाजिक संवाद गरिएको थियो । समझदारी पत्रको हस्ताक्षर अघिको सामाजिक संवादको औचित्य र महत्त्वमाथि प्रकाश पार्दै युनि(एप्रोको कार्यक्रम संयोजक तिलकजङ्ग खड्काले विषय प्रवेश गराउनुभएको थियो।

सास्कका एशिया प्यासिफिक क्षेत्रीय संयोजक फारिजन फजारीको समेत उपस्थिति रहेको सामाजिक संवादमा युनिकम नेपालका अध्यक्ष पौडेल सहित उपाध्यक्षहरु चिरंजीवी पौडेल र गोमा नेपाल महासचिव लेखनाथ दाहाल, कोषाध्यक्ष दुर्गा भट्ट र सहसचिव रमण घिमिरेले सहभागिता जनाउनुभयो।
यसैगरी उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष सूर्य भुजेल, कोषाध्यक्ष नवराज सुवेदी, सदस्यहरू झलक श्रेष्ठ, काशी गुरुङ , हरिकुमार श्रेष्ठ र सल्लाहकार दिनेश त्रिपाठी सहितले सामाजिक संवादमा भाग लिनुभएको थियो ।

त्यसअघि दिउँसो युनिकम नेपालले संगठन सम्बद्ध सदस्यहरूलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ। व्यापार क्षेत्रमा क्रियाशील सदस्यहरु सहभागी तालिमको सहजीकरण युनि नेपालका प्रतिमा भट्टले गर्नुभएको थियो। ४० जना सहभागी प्रशिक्षण कार्यक्रमको अध्यक्षता युनिकम नेपाल गण्डकी प्रदेशका अध्यक्ष राजु सुवेदीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर