Aamsanchar

कुलमानलाई हटाएको विषयमा बिर्तामोडमा विरोध

Author Image
मङ्गलवार, चैत १२, २०८१


बिर्तामोड । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयलाई लिएर देशभर विरोध प्रदर्शन भइरहेको छ । सोही क्रममा झापाको बिर्तामोडमा मङ्गलबार साँझ वृहत विरोध प्रदर्शन आयोजना गरिएको छ ।

नेकपा माओवादी केन्द्र र पार्टीका भातृ संगठनहरूद्वारा आयोजित उक्त विरोध कार्यक्रममा सयौँ प्रदर्शनकारी सहभागी भएका थिए । बिर्तामोडको पश्चिम बसपार्कबाट सुरु भएको विरोध ¥याली मुक्तिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनकारीहरूले हातहातमा मशाल बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

शान्तिपूर्ण रुपमा सुरु भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्ने प्रयास गरेको थियो । प्रदर्शनकारीहरू र प्रहरीबीच सामान्य घम्साघम्सी भएको थियो भने सुरक्षाकर्मीहरूले मशाल निभाउने प्रयास गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै नेताहरूले घिसिङको हटाएको निर्णय तत्काल सच्याउन माग गरेका छन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार जनभावना विपरीत गएको आरोप लगाउँदै सरकारको प्रतिकार गर्न सबैलाई एकजुट हुन आह्वान गरे ।

कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयले देशभर राजनीतिक र जनस्तरमा तीव्र असन्तुष्टि उत्पन्न गरेको छ । विरोध प्रदर्शन देशका अन्य सहरहरूमा समेत व्यापक भइरहेको छ । अब सरकार जनदबाबका कारण आफ्नो निर्णय पुनर्विचार गर्छ वा गर्दैन भन्ने प्रतीक्षाको विषय बनेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)