




झापा । यस वर्षको ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’ पत्रकार किशोर बुढाथोकी र ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार’ पत्रकार सुरेन्द्र भण्डारीलाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाले १ लाख १ सय रूपैयाँ पुरस्कार राशिको ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’ अन्नपूर्ण पोस्टका कोशी प्रदेश ब्युरो प्रमुख बुढाथोकीलाई प्रदान गर्ने निर्णय गरेको हो ।

त्यस्तै २५ हजार २५ रुपैयाँ पुरस्कार राशिको ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार’ पूर्वाञ्चल दैनिकका सह सम्पादक भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको हो ।


नेपाल पत्रकार महासंघ मोरङ शाखाकी अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा शुक्रबार बसेको महासंघको तेस्रो बैठकले दुवै पुरस्कार महासंघको ७० औं स्थापना दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रमकाबीच प्रदान गर्ने निर्णय गरेको थियो । तर, मुलुकमा उत्पन्न परिस्थितिका कारण अर्काे सूचना जारी नभएसम्म नेपाल पत्रकार महासंघले कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेसंगै उक्त कार्यक्रम स्थगित भएको नेपाल पत्रकार महासंघ मोरङ शाखा सचिव नेत्र प्रसाद अधिकारीले बताए ।
नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष पाठकको संयोजकत्वमा रहेको ३ सदस्यीय सिफारिस समितिले पुरस्कारको छनौट गरेको थियो । सो समितिमा नेपाल पत्रकार महासंघ महासंघ मोरङका पूर्वअध्यक्ष एवं अग्रज पत्रकार यज्ञ शर्मा र दाता परिवारका तर्फबाट केदारबहादुर बस्नेत रहेका थिए ।
पत्रकार वुढाथोकी मुलुकी खबर अनलाइनका सम्पादक समेत रहेका छन् । उनी सूचनाको हकका लागि अभियन्ताका रुपमा समेत काम गर्छन् ।
यता पूर्वाञ्चल दैनिकका सह सम्पादक भण्डारी सूचनाको हकका लागि राष्ट्रिय महासंघ कोशी प्रदेशका महासचिव हुन् । उनी राष्ट्रिय समाचार समिति र इमेज टेलिभिजनको झापा सम्वाद दाताको रुपमा समेत कार्यरत छन् । इकोनोमिक मिडिया एशोसिएसन (इमान) को कोशी प्रदेशका प्रथम सचिव समेत रहेका भण्डारी अनलाईन पत्रकार संघ झापाका अध्यक्ष समेत रहेका छन् । बाह्रदशी गाउँपालिका – ३ स्थायी घर भएका भण्डारी विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । उनी खोज पत्रकारितामा रुचि राख्छन् ।
विराटनगरका समाजसेवी केदारबहादुर बस्नेतले आफ्नी श्रीमतीको स्मृतिमा पत्रकार महासंघ मोरङमार्फत प्रदान गरिने गरी उक्त पुरस्कारका लागि ७ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्दै २०७३ सालदेखि पुरस्कार वितरण गरिँदै आएको थियो ।
यसअ अघि षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार यसअघि नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरु तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा, अग्रज पत्रकार एवं सूचनाको हकका अभियन्ता गजेन्द्र बुढाथोकी, सूचनाको हकका अभियन्ताहरु काशीराज दाहाल र स्वः विनय कसजुलाई प्रदान गरिसकिएको छ ।
त्यस्तै षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार यसअघि राजु श्रेष्ठ, पत्रकार मोहन काजी न्यौपाने, गणेश लम्साल, देवनारायण साह र हरि अधिकारीलाई प्रदान गरिसकिएको छ ।