Aamsanchar

हाम्रो पाठशालाको छैठौं वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

Author Image
सोमवार, चैत २५, २०८१

झापा ।  कनकाई — कनकाई नगरपालिका–३ सुरुंगामा अवस्थित कलानिधि शिक्षा प्रतिष्ठान तथा हाम्रो पाठशालाले आफ्नो छैठौं वार्षिकोत्सव भव्य समारोहका साथ मनाएको छ।

आज (सोमबार) कनकाई उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रम प्रतिष्ठानका व्यवस्थापन समिति अध्यक्ष धर्मकला कोईरालाको अध्यक्षता र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले गीत, संगित, नृत्यलगायतका आकर्षक सांस्कृतिक प्रस्तुति राख्दै दर्शकदीर्घालाई मन्त्रमुग्ध पारे। कार्यक्रममा प्रमुख अतिथि पोखरेलले “हाम्रो पाठशालाले सुरुंगा क्षेत्रको शैक्षिक उन्नयनमा पुर्‍याएको योगदान प्रशंसनीय छ,” भन्दै शैक्षिक संस्थाहरूले व्यवहारिक शिक्षा प्रदान गर्नुका साथै नेपाली भाषा, संस्कृति र स्थानीय भूगोलसम्बन्धी ज्ञान समेट्न आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रमको विशेष आकर्षणको रूपमा गुरु तथा पाठशाला स्थापनाकालीन अभिभावकहरूलाई विशेष सम्मान अर्पण गरिएको थियो। कनकाई माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक चन्द्रप्रसाद मैलाली र अन्य अभिभावकहरूलाई विद्यालयका प्रधानाध्यापक तथा सञ्चालक अखिलकुमार कोइरालाले सम्मान प्रदान गरेका छन्।

कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। सहभागीमध्ये कनकाई माध्यमिक विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगी, रोटरी क्लब अफ सुरुंगाका पूर्व अध्यक्ष शिवकुमार कडेल, संरक्षक इन्द्रमणि कोइराला, शुभद्रा कोइराला, सुरुंगा जेसीजकी पूर्व अध्यक्ष सरला दाहाल पोखरेल, सुस्मा न्यौपाने, प्रविन तिम्सिना, कनकाई उद्योग वाणिज्य संघका उपाध्यक्ष जनक कार्की, महासचिव सरोज सिटौला र रोटरी क्लब अध्यक्ष लुवराज उप्रेतीलगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य विमला रिजाल, कक्षा ३ का विद्यार्थीहरू रिदम घिमिरे र नौतन संग्रौलाले राखेका थिए। सञ्चालनको जिम्मेवारी मीरा प्रधानले सम्हालेकी थिइन्।स्थानीय समुदाय, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई स्मरणीय बनाएको थियो।

Views: 286

प्रतिक्रिया (०)

सम्बन्धित खबर