




भोजपुुर – केही वर्षअघिसम्म भोजपुर बोखिम, ढुंगेका स्थानीयको घरलौरी नै खानेपानीका मुहान र धारा हुन्थे। खानेपानीको जोहो गर्न अन्यत्र जानुपर्थेन। घरघरमै बनाइएका पक्की धारामा मुहानका पानी सोझै आउँथे। तर, केही वर्षयता पानीका मुहानहरू सुक्न थालेपछि दिनचर्या बदलिएको छ। ती पक्की धाराहरू बेबारिसे अवस्थामा छन्। खानेपानी पहिलेजस्तो सुलभ छैन। धेरै मुहान सुकेकाले सीमित मुहानको पानी गाउँमा बाँडीचुँडी चलाउनु परेको छ। गाउँले पालो पर्खेर पानी भर्ने र धाउने गर्छन्।


बढ्दो सुक्खायाम र खानेपानी समस्याले गाउँबस्तीहरू रित्तिन थालेका छन्। मुहान र धाराहरू सुकेर खण्डहर बनेका छन्। ‘१०–१५ वर्षअघिसम्म घरको धारामा पानी आउँथ्यो, घरलौरी जस्तै मुहान हुन्थे, तर अहिले मुहानै सुकेर एउटै मुहान चलाउनु परेको छ’, स्थानीय सम्मर तामाङले सुनाए, ‘सबै गाउँलेले चलाउने एउटै मुहानको पानी पर्याप्त पनि हुँदैन। जसोतसो दैनिकी गुजारा चलेको छ, गाईबस्तुलाई खुवाउन पनि पर्याप्त छैन।’

सुक्खायामका कारण भोजपुरका धेरैजसो ग्रामीण बस्तीहरू पानीको समस्याले बर्सेनि थलिने गरेका छन्। घण्टौँ धाएर, लामो पालो कुर्दाकुर्दै दिन बित्ने गर्दछ। भोजपुरको रामप्रसाद राई गाउँपालिका, अरुण गाउँपालिका, पौवादुङमा गाउँपालिका र षडानन्द नगरपालिकाका धेरै ग्रामीण क्षेत्रमा सुक्खायाममा खानेपानीको हाहाकार हुने गर्छ।


वैकल्पिक स्रोतका लागि खोलाबाट लिफ्टिङ र डिप बोरिङ गरेर मानेभन्ज्याङ, सानोदुम्मा, बस्तीमा, च्याङ्ग्रे, याकुलगायत केही ग्रामीण क्षेत्रमा खानेपानीको आपूर्ति गरिएको छ। डिप बोरिङ खर्चिलो भएकाले अहिले त्यो कामलाई बन्द गरिएको छ भने जरायोटार, मानेभन्ज्याङलगायतका क्षेत्रमा लिफ्टिङबाट खानेपानी पुर्याइएको छ।
सुक्खायाम सुरु भएसँगै मुहानको पानीको सतह घट्नाले भोजपुर सदरमुकाममै पनि खानेपानी समस्या हुने गर्छ। पानी कम भएपछि खानेपानी वितरणको समय तालिका तोकिने गरिएको छ। करिब १६ सय घरधुरी उपभोक्तालाई खानेपानी धानिरहेको सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिले दैनिक तीन लाख लिटर बढी मात्रै पानी वितरण गरिरहेको छ। दैनिक ४ लाख ५० हजार लिटर खानेपानी आवश्यक भए पनि मुहानको पानी घटेकाले समितिले प्याकेजमा समय अतराल मिलाएर खानेपानी वितरण गरिरहेको जनाएको छ।
समितिका सचिव घमचन्द्र दाहालका अनुसार सुक्खा खडेरीका कारण तीनभंगाले खानेपानी मुहानको खानेपानी कम आएकाले पर्याप्त पानी वितरण गर्न नसकिएको हो।
मुहान किनेर पानीको जोहो
भोजपुर दिङ्ला बजारका घनश्याम श्रेष्ठ, हेमराज श्रेष्ठ, खिलराज श्रेष्ठ र डुन्डी श्रेष्ठले २०÷२० हजार रुपैयाँ उठाएर खानेपानी मुहान खरिद गरे। षडानन्द–८ तुंगेछास्थित पोस्टबहादुर चापागाईंका नाममा रहेको खानेपानी मुहानलाई उनीहरूले ८० हजारमा किनेका हुन्। पानी उम्रिएको चार आना जमिन किनेपछि मात्र श्रेष्ठ दाजुभाइले खानेपानी जोहो गर्न सके।
‘जग्गाधनीले पानी लैजानका लागि मुहान र वरपर रहेको जग्गा किन्नै पर्ने सर्त राखे’, हेमराजले भने, ‘हामीसँग कुनै विकल्प भएन। खानेपानीको संकट टार्न पनि मुहान खरिद गरेर घरसम्म पाइपमार्फत पानी ल्यायौं।’
दिङ्लाकै २२ परिवारले पनि मिलेर मुहान भएको १२ रोपनी जग्गा स्थानीय प्रेमनाथ चापागाईंसँग किने। जग्गा नकिने पानी उपभोग गर्न नपाइने भएपछि उनीहरूले ३० लाख रुपैयाँ संकलन गरे। तीन किलोमिटर पर रहेको मुर्कुटे धाराको मुहान भएको जग्गा खरिद गरिएको स्थानीय पवन कुलुङले बताए। प्रतिपरिवार १ लाख ३६ हजार रुपैयाँभन्दा बढी पर्यो। पानीको स्रोत नहुँदा वैकल्पिक उपायका रूपमा मुहान भएको जग्गा किनेर घरघरमा धारा पुर्याइएको उनले सुनाए।
‘पानीका लागि हामीसँग अन्य विकल्प थिएन। खानेपानी पाउन नसकेर तनाव बेहोर्नुपर्यो’, उनले भने, ‘गाउँघरमा जग्गाधनीसँग मुहान किन्नु हाम्रो बाध्यता हो। मुहान किनेर ल्याएको पानी प्रयोग गर्ने गरिएको छ।’ केउरेनीपानी खानेपानी उपभोक्ता समितिले पनि २०७३ मा किमालुङ, खार्तम्छा र तुंगेछाको सिमानामा पर्ने खहरे खोलाबाट खानेपानी ल्याउन योजना ल्याएको थियो। २०७६ भित्र बजारमा पानी आपूर्ति गर्ने लक्ष्य छ। मजदुरको ज्यालाका लागि उपभोक्ता समितिका ३ सय ६० परिवारबाट १ हजार २ सय ३० रुपैयाँका दरले रकम संकलन गरिएको तत्कालीन योजना समितिका अध्यक्ष जितेन्द्र श्रेष्ठले बताए।
लिफ्टिङले मेट्यो वर्षौंदेखिको तिर्खा
लिफ्टिङ प्रविधिबाट खानेपानी आपूर्ति पुगेपछि समस्याग्रस्त रामप्रसाद राई गाउँपालिका र हतुवागढी गाउँपालिका क्षेत्र सहज बनेको छ। खानेपानी संकटका कारण सयौं घरबस्ती बसाइँ गएको मानेभन्ज्याङ, दलगाउँ, रानीबास, होम्ताङजस्ता सुक्खा क्षेत्रमा लिफ्टिङ प्रविधिको खानेपानी आपूर्ति गरिएको हो।
रामप्रसाद राई गाउँपालिकाको वडा नं. ५ मानेभन्ज्याङ र वडा न. ४ दलगाउँमा खानेपानी समस्या हल गर्न करिब दुई वर्षअघि लिफ्टिङ योजना ल्याइएको थियो। सुक्खाका कारण त्यस क्षेत्रका खानेपानीका मुहान, कुवाँ र धाराहरू सुक्न थालेपछि जनजीवन एकदमै कष्टकर थियो। खानेपानी संकट टरेपछि गाउँ नै हराभरा हुने स्थानीय तिलाचन बलले बताए। नयाँ प्रविधिको लिफ्टिङबाट खानेपानी पुगेपछि वर्षौंदेखिको खानेपानीको जोहो गर्ने सास्ती हटेको उनले सुनाए। ‘एक घर एक धारा’ अवधारणासहित गाउँपालिकाको पहल र संघीय सरकारको आर्थिक सहयोगमा १२ करोड ४० लाख लागतको उक्त खानेपानी आयोजनाले जनताको कष्टकर दैनिक जीवनयापन फेरिएको छ।
यस प्रविधिबाट पुर्याइएको उक्त खानेपानीले मानेभन्ज्याङका ४ सय २० घरधुरी लाभान्वित रहेको पिखुवाखोला मानेभन्ज्याङ सोलार पम्पिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दीपक तामाङले बताए। पिखुवा खोलादेखि ३२ सय मिटरमाथि राखिएको लामाआल वितरण केन्द्रबाट बिहान ४ घण्टा र बेलुकी २ घण्टा वितरण भइरहेको छ।
यस्तै, गाउँपालिकाको वडा नं. ४ दलगाउँमा पनि १ करोड ३ लाख रुपैयाँको लागतमा लिफ्टिङ योजना सम्पन्न भएको छ। आयोजनाअन्तर्गत १ सय ६ घरधुरी लाभान्वित भएको भुमेथान लिफ्टिङ खानेपानी आयोजना समितिका अध्यक्ष बलराम श्रेष्ठले बताए। स्थानीय सभुवा खोलादेखि ५ सय मिटर दूरीको सहेँलेबाट खानेपानी वितरण गरिएको छ।
भोजपुरको रामप्रसाद राई गाउँपालिका, अरुण गाउँपालिका, पौवादुङमा गाउँपालिका र षडानन्द नगरपालिकाका धेरै ग्रामीण क्षेत्रमा सुक्खायाममा खानेपानीको हाहाकार हुने गर्छ।
बढ्दो सुक्खायाम र खानेपानी समस्याले भोजपुरका धेरैजसो गाउँबस्तीहरू रित्तिान थालेका छन्। मुहान र धाराहरू सुकेर खण्डहर बनेका छन्। धेरै मुहान सुकेकाले सीमित मुहानको पानी गाउँमा बाँडीचुँडी चलाउनु परेको छ। सबै गाउँलेले चलाउने एउटै मुहानको पानी पर्याप्त पनि हुँदैन। हतुवागढी गाउँपालिकाको वडा नं ४, खैराङमा पनि लिफ्टिङबाट खानेपानी ल्याउने काम भइरहेको गाउँपालिकाले जनाएको छ। वडा नं १ र २ रानीबासमा पर्ने स्थानीय कावाखोलाको पानीलाई ट्यांकीमा जम्मा गरेर वितरण गर्ने गरी लिफ्टिङ प्रविधिको काम थालिएको हतुवागढी लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष बलबहादुर मगरले जनाए। कुल १६ करोड ५१ लाख लागतमा सम्पन्न हुने उक्त योजनाले करिब एक हजार घरधुरी लाभान्वित हुने समिति अध्यक्ष मगरको भनाइ छ। उक्त कावाखोलाबाट करिब पाँच किलोमिटर माथि खानेपानीको ट्यांकी निर्माण गरिएको छ।
गाउँपालिकाकै वडा नं. ५ र ६ होम्ताङमा पनि २२ करोडको लागतमा निर्माण सम्पन्न गर्ने गरी लिफ्टिङ प्रविधिकै खानेपानीको प्राविधिक पूर्वाधारको काम भइरहेको छ। पिखुवा खोलाबाट लिफ्टिङ गरी ल्याइने उक्त खानेपानी आयोजनाबाट झन्डै ११ सय घरधुरी लाभान्वित छन्।




































