Aamsanchar

५९ भूमिहीनलाई लालपुर्जा वितरण

Author Image
आइतवार, चैत ३१, २०८१

हेटौँडा – २०४१ सालदेखि बसोबास गर्दै आएका मीन बहादुर संजेलले भोग चलन गर्दै आएको जग्गाको लालपुर्जा हातमा परेपछि संजेलको खुशी फर्किएको छ। मकवानपुर बकैया गाउँपालिका–७ का संजेलले आफ्नो हातमा लालपुर्जा आईसकेपछि सुकुम्बासी भएर बस्नुपर्ने बाध्यता हटेको बताए।

त्यसैगरी, जीवनको करिब ८ दशक पुग्नै लाग्दा आफूले भोग चलन गर्दै आएको जग्गाको पुर्जा हातमा परेपछि ठूलीमाया ब्लोनको अनुहारमा मुस्कान फक्रिएको छ। बकैया गाउँपालिका–७ स्थित भीरकोटकी फुलमायाले पनि जीवनको ८ दशक पुग्नै लाग्दा लालपुर्जा हात पारिन्।

लालपुर्जा पाएपछि उनले आफ्नो जीवनभरको सपना पुरा भएको बताउँदै सरकारलाई धन्यवाद व्यक्त गरिन्। तीन छोरामध्ये एक विदेश गएका १६–१७ वर्ष बित्दासमेत नफर्किएपछि चिन्तित रहँदै आएकी उनी छोरीको घरमा बस्दै आएको थियो। शारीरिक रूपमा अशक्त भएपनि हातमा लालपुर्जा लिएर उनको अनुहारमा खुशी देखिन्थ्यो।

विष्णु माया भ्लोनको पनि हातमा लालपुर्जा परेपछि खुशीको सिमा नरहेको बताइन्। सानै उमेरमा बिहे गरेर बकैया–७ का बुद्धबहादुर भ्लोनसँग बिहे गरेर आएकी उनले हातमा लालपुर्जा प्राप्त भएपछि जीवनकै ठूलो उपहार प्राप्त गरेको बताइन्।

भूमि समस्या समाधान आयोग मकवानपुरले बकैया–७ का ५९ वटा लालपुर्जा वितरण गरेको छ। भूमि समस्या समाधान आयोग मकवानपुरले जग्गाधनी पुर्जा प्राप्त गर्नेमा बकैया गाउँपालिका–४ का १९ जना र भूमिहीन सुकुम्बासी ४० जना रहेका छन्।

आइतबार भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारणमन्त्री बालराम अधिकारीको उपस्थितिमा वर्षौंदेखि बसोबास गरिरहेका तर लालपुर्जा पाउन वञ्चित बकैयाका ५९ जना भूमिहीनलाई लालपुर्जा वितरण गरेका हुन्।

पछिल्लोपटक गठित भूमि समस्या समाधान आयोगले पहिलोपटक मकवानपुरमा जग्गाधनी पूर्जा वितरण गरेको हो। ६१ वटा लालपुर्जा वितरणको तयारी रहे पनि २ वटा पुर्जा वितरणमा प्राविधिक कारणले रोकिएको र २ वटा पनि केहि दिनमै वितरणको तयारी रहेको बताएका छन्।

लालपुर्जा वितरण कार्यक्रममा मन्त्री अधिकारीले भूमिहीनको समस्या स्थायी रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। संविधानमा व्यवस्था भएअनुसार राज्य हरेक नागरिकलाई भूमि स्वामित्व उपलब्ध गराउने तर्फ केन्द्रीत रहेको उनको भनाइ छ।

मन्त्री अधिकारीले सरकारले भूमिहीन सुकुम्बासी समस्या हल गर्न अन्तिमपटक भूमिहीन सुकुम्बासी समस्या समाधान आयोग बनाएर काम थालेको बताए। ‘सरकारले अन्तिम पटक भूमि आयोगको संरचना बनाएको छ। भुमी समस्या हल गर्न सरकार गम्भीरताका साथ लागेको र सोहीअनुरुप आयोगले पनि काम गरिरहेको छ,’ उनले भने।

कानुनी समस्या हल गर्दै सुकुम्बासी समस्या अन्त्यको लागि सरकारले काम गरेको मन्त्र अधिकारीले बताए।

सरकारले नागरिकको समस्या हल गर्न केही प्रावधान मिलाए अध्यादेश ल्याएको भएपनि प्रतिपक्ष र सरकारमा रहेका केही साना दलका कारण समस्या भएको मन्त्री अधिकारीले बताए। सरकारले ५ लाख भूमिहीन सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरेको उनले बताए।

अघिल्लो कार्यकालमा भएको निर्णयलाई निरन्तरता दिँदै आयोग मकवानपुरले पूर्जा वितरण गरेको आयोगका अध्यक्ष बलराम बलले जानकारी दिए। अध्यक्ष बलले मकवानपुरका विभिन्न स्थानीय तहरुहरुका भुमिहिनलाई २ सय लालपुर्जा वितरणको तयारी अवस्थामा समेत रहेको जानकारी दिए। वडाले सूचना जारी गरी सोही आधारमा अनुसूची फारम भरेका नागरिकहरुको छानविन गरेर पूर्जा वितरण गरेको उनले बताए।

 

Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर