Aamsanchar

सरकारको नेतृत्व गरिरहेको एमालेले राजधानीमा शक्ति प्रर्दशन गर्ने

Author Image
सोमवार, वैशाख १, २०८२

काठमाडौँ । लोकतन्त्र दिवस, वैशाख ११ देशभर विभिन्न कार्यक्रम गरी मनाइने यो दिनलाई नेकपा एमालेले यसपटक ’युवा उत्सव’ का रूपमा मनाउने तयारी गरेको छ। तर, यस उत्सवको केन्द्रमा गीत–सङ्गीत वा सन्देशमूलक कार्यक्रम मात्रै होइन, लाखौँ युवाको उपस्थितिमार्फत शक्ति प्रदर्शन पनि रहनेछ।

एमालेको युवा संगठन ‘युवा सङ्घ नेपाल’ का अध्यक्ष क्षितिज थेवे भन्छन्, “यो लोकतन्त्रको सेलेब्रेसन हो। देशभरका कम्तीमा एक लाख युवाहरू काठमाडौँमा भेला हुनेछन्।” आयोजकहरूका अनुसार भृकुटीमण्डप वा टुँडिखेलमध्ये कुनै एक स्थानमा कार्यक्रम गरिनेछ।

कार्यक्रमलाई ‘युथ समिट’ को स्वरूप दिइएको छ, जहाँ युवाहरूका एजेन्डा, समस्याहरू र समाधानका उपायबारे छलफल गरिने बताइएको छ। उपाध्यक्ष कृष्णहरि केसी भन्छन्, “यो केवल जमघट होइन, युवाहरूको आवाजलाई केन्द्रमा ल्याउने प्रयास पनि हो।”

तर यो जमघटलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केही फरक नजरले हेरिरहेका छन्। बुटवलको एक कार्यक्रममा बोल्दै उनले भने, “वैशाख ११ गते काठमाडौँमा हुने युवा सम्मेलनले प्रतिक्रियावादी र अराजकतावादीहरूलाई देखाउनेछ—युवा शक्ति के हो र एमाले शक्ति कस्तो हो।”

उनको भाषणको लयले प्रस्टै पार्छ, कार्यक्रम केवल छलफल वा गोष्ठीमा सीमित रहने छैन। राजनीतिक सन्देश दिने खालको समावेशी प्रदर्शन हुनेछ, जहाँ एमाले आफ्नो सांगठानिक बल देखाउने तयारीमा छ।

लोकतन्त्र दिवस भनेको त्यो ऐतिहासिक क्षण हो—२०६२/६३ को जनआन्दोलन, जसले निरङ्कुश राजतन्त्रलाई अन्त्य गर्दै जनताको शासन पुनःस्थापित गरेको दिन। त्यो दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले घुँडा टेकेका थिए, संसद पुनः स्थापना भएको थियो, र देश नयाँ दिशातर्फ अग्रसर भएको थियो।

अब हेर्न बाँकी छ—त्यही दिनको सम्झनामा आयोजित यो ’युवा महोत्सव’ ले कस्तो सन्देश दिन्छ, र कति प्रभावशाली शक्ति प्रदर्शन बन्न सक्छ।

Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर