




प्राकृतिक प्रकोपको कहालीलाग्दो दस्तावेज
२०८१ को नेपाल… रुदैँ उठ्यो धेरै ठाउँमा। असार २८ मा नारायणगढ–मुग्लिन सडकमा पहिरोले दुई वटा बस त्रिशूलीमा गुमायो—अहिलेसम्म तिनको कुनै अत्तोपत्तो छैन। श्रावण ९ मा त्रिभुवन विमानस्थल नजिक शौर्य एयरको विमान दुर्घटनामा १८ जनाले ज्यान गुमाए। अझ नुवाकोट, धादिङ, आँबुखैरेनी—यी नामहरूमा मृत्युलाई लुकेको देखियो। धुनीबेशी नगरपालिका–९ मा असोज ११ मा गएको पहिरोमा ३५ जनाले ज्यान गुमाए। आँबुखैरेनीको बस दुर्घटनामा २७ जनाको मृत्यु भयो, जसमा भारतीय पर्यटकहरू पनि थिए।


गर्वका हिमाली सफलताहरू
तर यही वर्ष सगरमाथा पनि मुस्कुरायो—त्यहाँ नेपाली झण्डा फहराउनेहरूलाई फेरि स्वागत ग¥यो। कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा चढ्दै आफ्नै रेकर्ड तोडे। पलेसा गोवद्र्धनले पेरिस पारालम्पिकमा ऐतिहासिक पदक जितिन्। दावा याङजुम र निमा रिन्जीले ८००० मिटर माथिका सबै १४ हिमाल चढेर इतिहास कोरे। निर्मल पुर्जा र मिङ्मा जी शेर्पाले विना अक्सिजन विश्वका १४ हिमाल आरोहण गरेर शिखरहरू जिते। फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एकै याममा तीनपटक सगरमाथा चढ्दै विश्वकी पहिलो महिला बनिन्।

राजनीतिक उतारचढावहरू
२०८१ नेपाली राजनीतिका लागि पनि उत्तिकै घटनापूर्ण रह्यो। केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री नियुक्त भए—नेपाली कांग्रेस र एमालेबीचको गठबन्धनले नयाँ समीकरण ल्यायो। कान्तिपुर अध्यक्ष कैलाश सिरोहिया पक्राउ, रवि लामिछानेको पक्राउ र कारागार यात्रा, कुलमान घिसिङको पदमुक्ति र त्यसपछि भएको राजनीतिक बहस– सबै समाचार बनिरहे। उता, साना–ठूला ३१ स्थानीय तहमा उपनिर्वाचन सम्पन्न भयो भने संसदमा अवरोध र बहस निरन्तरता पाए।


अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक भ्रमण
कूटनीतिको पाटोमा पनि वर्ष २०८१ उल्लेखनीय रह्यो। भुटानी राजा जिग्मे खेसार वाङ्चुक, जापानी विदेशमन्त्री कामिकावा योको, र कतारी अमिर तमिम विन हमादको नेपाल भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धमा ताजगी ल्यायो। भारतीय सेना प्रमुख द्विवेदीलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापति बनाइयो।
विकासका पाइला र आर्थिक मेला
धरहराको सर्वसाधारणका लागि उद्घाटन, नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा ‘ब्रेक थ्रु’, ६.५ अर्बको लगानी सम्मेलन सम्पन्न, अनि नेपाल प्रिमियर लिग—यी सबैले २०८१ लाई आर्थिक, खेलकुद र पूर्वाधारको हिसाबले स्मरणीय बनायो।
२०८२ सन्देश लिएर आएको बिहान
२०८१ आफैँमा एक दस्तावेज हो—कहिल्यै नबिर्सिने कथाहरूको संग्रह। पीडाले भिजेको र गर्वले चम्केको एउटा वर्ष। अब हामी नयाँ वर्ष २०८२ मा प्रवेश गरिरहेका छौँ—यसले कस्तो बाटो ल्याउँछ, त्यो त भविष्यले देखाउनेछ। तर एउटा कुरा पक्कै हो—हामीले २०८१ बाट धेरै कुरा सिक्यौँ।
नयाँ वर्षको शुभकामना!
२०८२ — आशा, अग्रगमन र आत्मबलको कथा बनोस्।




































