Aamsanchar

पाँच मोडेलका इलेक्ट्रिक बाइक नेपाली बजारमा सार्वजनिक

Author Image
सोमवार, वैशाख १, २०८२

 

काठमाडौं। भारतीय इलेक्ट्रिक बाइक निर्माता कम्पनी रिभोल्ट मोटर्सले नेपाली बजारमा औपचारिक रुपमा प्रवेश गरेको छ। रिभोल्टले एमभी दुगर ग्रुपको सहकार्यमा एक कार्यक्रमबीच काठमाडौंमा आफ्ना पाँच मोडेलका इलेक्ट्रिक बाइक सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएका मोडेलहरूमा आरभी १, आरभी १ प्लस, आरभी ब्लेज एक्स, आरभी ४०० बीआरजेड र आरभी ४०० रहेका छन्। यी सबै बाइकमा प्रयोगकर्तामैत्री अत्याधुनिक प्रविधिहरू जडान गरिएको कम्पनीले जानकारी दिएको छ।

रिभोल्टका बाइकहरूमा मोबाइल एपमार्फत स्टार्ट र स्टप गर्न मिल्ने सुविधा, लोकेसन ट्र्याकिङ, तथा भ्वाइस कमान्ड जस्ता फिचरहरू उपलब्ध छन्। साथै, यी बाइकमा इको, नर्मल र स्पोर्ट मोड गरी तीन फरक ड्राइभिङ विकल्प छन्, जसले चालकको आवश्यकताअनुसार सन्तुलित र शक्तिशाली सवारी अनुभव प्रदान गर्छ।

कम्पनीका अनुसार, यी बाइकले एक पटक पूर्ण चार्जमा १५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छन् भने ८० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने क्षमतासमेत राख्छन्।

रिभोल्टले सार्वजनिक गरेका मोडेलहरूको नेपाली बजारमा निर्धारण गरिएको मूल्य यसप्रकार छः

आरभी १ः रु २,९९,०००

आरभी १ प्लसः रु ३,४९,०००

आरभी ब्लेज एक्सः रु ३,९९,०००

आरभी ४०० बीआरजेडः रु ४,१९,०००

आरभी ४००ः रु ४,४९,०००

ग्राहकहरूले यी बाइक नक्सालस्थित शोरुम र बालाजुस्थित सर्भिस सेन्टरबाट खरिद गर्न सक्नेछन्। साथै, कम्पनीले ५.९९ प्रतिशत ब्याजदरमा २४ महिनासम्म किस्ताबन्दी योजना समेत उपलब्ध गराएको छ।

सन् २०१७ देखि भारतीय बजारमा इलेक्ट्रिक बाइक बिक्री गर्दै आएको रिभोल्टले अहिलेसम्म ५० हजारभन्दा बढी युनिट बिक्री गरिसकेको छ। कम्पनीले नेपाली बजारमा आफ्नो प्रवेशलाई हरित यातायात प्रवद्र्धन र प्रविधि मैत्री सवारीसाधनको प्रवाह को रूपमा लिएको जनाएको छ।

Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको माैसम
शुक्रवार, वैशाख ५, २०८२
यस्तो छ आजको माैसम
बिहिवार, वैशाख ४, २०८२