Aamsanchar

बालबच्चा पढाउन उत्तरी इलामका अभिभावक भारत लागे

Author Image
मङ्गलवार, वैशाख २, २०८२

फायल तस्विर

इलाम – नेपालको राष्ट्रिय गान ‘सयौ थुङ्गा फुलका हामी एउटै माला नेपाली। सार्वभौम भइ फैलिएका मेची महाकाली’ हो। तर इलामको सन्दकपुर गाउँपालिका–५ की ९ वर्षीया पेमा तामाङ राष्ट्रिय गानको रुपमा ‘जनगणमन–अधिनायक जय हे भारत भाग्य विधाता १ पञ्जाब सिन्धु गुजरात मराठ द्राविड़ उत्कल बङ्ग’ गाउँछिन्। पेमा जस्तै इलामको उत्तरी पहाडका धेरै जसो विद्यार्थीहरूलाई राष्ट्रिय गानको रुपमा जनमन गण नै गाउँछन्।

उनीहरूलाई नेपालको राष्ट्रिय गान गाउन कठिन लाग्छ। नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान वैशाख १ गतेबाट सुरु गरेको छ। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने आदर्श वाक्यका साथ भर्ना अभियान सुरु भएको हो। तर यो अभियान उत्तरी इलामको हकमा भने सफल हुने देखिन्न।

इलामको उच्च पहाडी क्षेत्रका विद्यार्थीहरूको शैक्षिक गन्तव्य भारतको मानेभञ्ज्याङ र आसपासको क्षेत्र हो। आफ्नो घरभन्दा नजिक विद्यालय नभएकै कारण भारतको मानेभञ्ज्याङमा धेरै जसो विद्यार्थीहरू भेट्न सकिन्छ। नेपालतर्फ भएका विद्यालय बन्द भएपछि सो क्षेत्रका अधिकांश बासिन्दाले शिक्षामा भारतकै भर पर्नुपर्ने बाध्यता रहेको स्थानीय दावा लामा बताउँछन्।

कतिपय अभिभावकले बालबालिकालाई होस्टेलमा राख्ने त कतिपय अभिभावकले आफैँ कोठा लिएर समेत बालबालिकालाई शिक्षा दिइने गरेका छन्। उच्च शिक्षामा धेरै पहिलादेखि भारतका विद्यालय तथा विश्वविद्यालयमा जाने गरिन्थ्यो। तर, प्राथमिक तहमा नै यसरी बालबालिका भारततर्फ नै अध्यापन गराउनुपर्ने बाध्यताले सो क्षेत्रका अभिभावक पिरोलिएका छन्।

पातलो बस्ती र जनघनत्व पनि कम भएको लेकाली क्षेत्र जौबारी, मेघमा, कालपोखरीलगायत ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तहबाट पढाउन भारतीय क्षेत्रमा अभिभावक गएर बस्नुपर्ने बाध्यता भएको जौबारीका सोनाम शेर्पाले बताए। जौबारीको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको १० वर्ष लाग्यो। कक्षा १ देखि ५ सम्म पढाइ हुँदै आएको उक्त विद्यालय विद्यार्थी अभावका नाममा २०७२ सालमा बन्द भएको थियो। ‘सीमा क्षेत्रका धेरै बालबालिकालाई भारतीय विद्यालयमा पढ्न पठाउन थालेपछि यहाँका विद्यालयमा विद्यार्थी अभाव भयो, उक्त विद्यालय ८० जनासम्म बालबालिका अध्ययन गर्न आउने गर्थे। त्यसपछि उक्त विद्यालय स्थापनाको कुनै पहल भएको छैन’, उनले भने।

अहिले यस क्षेत्रबाट मात्रै करिब १५ जना भन्दा बढि बालबालिका मानेभञ्ज्याङको रिब्स विद्यालयमा पढ्छन्। महिनाको भारु १५ देखि १८ हजार खर्च हुने गरेको मानेभञ्ज्याङमा कोठा लिएर नानी पढाउन बसेकी डोमा शेर्पाले बताइन्। ‘आफ्नै देशमा बच्चा पढाउन पाएको भए सहज हुन्थ्यो, विद्यालय छैन, काम कुरो सबै बर्बाद भएको छ’, उनले भनिन्।

जौबारीको मात्रै होइन, माइजोगमाई–२ को मेग्मामा रहेको सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर–५ कालपोखरीमा रहेको प्राथमिक विद्यालय, सन्दकपुर–५ को मजुवामा रहेको अर्को प्राथमिक विद्यालय बन्द भइसकेको राष्ट्रिय प्रावि जौबारीका पूर्वप्रधानाध्यापक पासाङ छिरिङ शेर्पाले जानकारी दिए। जसका कारण उक्त क्षेत्रका नानीबाबुलाई अध्ययनका लागि नजिकैका भारतीय बजार लैजानुपरेको उनले जानकारी दिए।

लेकाली क्षेत्रमा विद्यालय नहुँदा जौबारी, तुम्लिङ, मेग्मा, आलेभञ्ज्याङ, नुनथला, इङ्ला, गैरीबासलगायतका सबै बालबालिका भारतीय विद्यालय लैजानुपरेको छ। सीमाक्षेत्रका कतिपय बालबालिका घरबाटै धाएर विद्यालय जाने गरेका हुन्। कतिपयको भने पढ्नका लागि महँगो शुल्क र अभिभावकसहित भारतीय बजारमा बास हुने गरेको छ। भारतीय विद्यालयमा आफ्ना नानीबाबु भर्ना गरेपछि नेपालतर्फका विद्यालय विद्यार्थी अभावकै कारण बन्द भएको जौबारीका थुक्तेन लामाले जानकारी दिए। सीमा क्षेत्रका नेपाली विद्यार्थी भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा पढ्न जाने गरेको लामाले जानकारी दिए।

‘नेपालतर्फ विद्यालय छैन, नानीहरूलाई जति महँगो भए पनि पढाउनु त पर्छ नि, यो सीमावासीको रहरभन्दा पनि बाध्यता हो,’ उनले भने। यसरी विद्यार्थी भारत लैजाँदा पैसा त खर्च हुन्छ नै नेपालको राष्ट्रियता, स्वाभिमानजस्ता विषयसमेत नेपाली बालबालिकाले थाहा नपाउने गरेको शेर्पाको भनाइ छ। बन्द भएका विद्यालय जीर्ण बनिसकेका छन्। जौबारीको राष्ट्रिय प्राविमा भने केही समयअघि सशस्त्र प्रहरी बसेको थियो। उक्त विद्यालयमा बसेरै सशस्त्रले विद्यालय नजिकै आफ्नो भवन निर्माण गरेको छ। सीमा क्षेत्रमा विद्यालय सञ्चालन गर्न हालसम्म सरोकारवाला निकायले चासो देखाएका छैनन्।

Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर