Aamsanchar

विद्यार्थी भर्ना अभियान शिक्षक आन्दोलनले प्रभावित

Author Image
मङ्गलवार, वैशाख २, २०८२

काठमाडौं । देशभर सुरु भएको नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियान शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनका कारण प्रभावित भएको छ। शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित आन्दोलनरत शिक्षकहरूले भर्ना अभियानमा सहभागी नहुने अडान लिएका छन्।

नेपाल शिक्षक महासंघको अगुवाइमा चैत २० गतेदेखि काठमाडौँमा जारी आन्दोलनले विद्यालयहरूमा शैक्षिक गतिविधि ठप्प पारेको छ। कतिपय विद्यालयले सूचना जारी गर्दै शैक्षिक कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरेका छन्।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले माग पुरा नभएसम्म कुनै शैक्षिक कार्यमा संलग्न नहुने बताएका छन्। अर्कोतर्फ, नेपाल अभिभावक महासंघले आन्दोलनले ७० लाख बालबालिकाको पढ्ने अधिकार खोसेको आरोप लगाएको छ।

एसईई उत्तरपुस्तिका मूल्याङ्कन र कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत देखिएको छ। सरकार र शिक्षकबीच हालसम्म सहमति नजुटेपछि आन्दोलन थप कडा बनाइएको छ।

Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर